२०८३, १ भाद्र मंगलबार

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै


काठमाडौं,माघ २७ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । सोमबार बिहान ८ बजेर २४ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिनुभयो । वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ७ : ०५ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक