२०८३, १ असार मंगलबार

चिकित्सक आन्दोलनः उपचार नपाएर फर्किए बिरामी

चिकित्सक आन्दोलनः उपचार नपाएर फर्किए बिरामी


काठमाडौँ, १८ माघ: पिसाबथैलीमा आएको समस्याको उपचारका लागि गुल्मी जिल्लाका सन्दीप थापा मगर बिहीबार वीर अस्पताल आउनुभएको थियो । सडक दुर्घटनामा गम्भीर घाइते भएपछि उहाँमा दुई वर्ष पहिलेदेखि यो समस्या छ । चिकित्सकले थप उपचार ‘फलोअप’ का लागि आज बोलाएकाले उहाँ मामासँग बिहीबारै गुल्मीबाट काठमाडौँ आउनुभएको थियो । बिहानै टिकट काट्न अस्पताल पुग्दा मात्रै उहाँले आज बहिरङ्ग सेवा बन्द भएको थाहा पाउनुभयो । तैपनि दिनभर कुर्दा कतै टिकट खुल्छ कि भन्ने आशा गर्दै बसेका उहाँहरु अस्पताल ढोकामा भेटिनुभयो ।

चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर पुस २५ देखि अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलनको समर्थनमा शुक्रबार आवासीय चिकित्सकले बहिरङ्ग विभागमा गरेको तालाबन्दीका कारण मगरले उपचार नपाउनुभएको हो । आज बिहान १० बजेदेखि नै तालाबन्दी शुरु हुँदा उपचारका लागि अस्पताल आएका धेरै बिरामी मगरजस्तै उपचार नगरी फर्कन बाध्य भएका छन् । बहिरङ्ग विभागले बिहानैदेखि टिकट नदिएपछि अस्पताल परिसरमा नै कतिपय बिरामी दिनभर कुर्दा केही हुन्छ कि भनेर कुरिरहेका भेटिए भने कतिपय निजी अस्पतालमा उपचारका लागि जान हिँडेका भेटिए ।

पहिलेदेखि देखाएकै चिकित्सकलाई देखाउन र निजी अस्पतालको उपचार खर्चिलो हुँदा वीर अस्पतालमा नै आएको मगरका मामा सन्दीप रोक्काले बताउनुभयो । काठमाडौँमा आफन्तका घर नभएकाले होटलमा नै बस्नेखाने गरिरहेको रोक्काले बताउनुभयो । आन्दोलन लम्बिँदा साथमा रहेको खर्च होटलमै सकिन्छ कि भन्ने चिन्ता उहाँलाई छ । “दुई जना बस्दा खाँदा एक दिनमा नै रु दुई हजार सकिन्छ”, रोक्काले भन्नुभयो, “धेरै दिन बसेर भएको पैसा सकेर उसै फर्किनुपर्ने हो कि भन्ने पीर छ ।”

मगरजस्तै अछामका प्रमोद शाही पनि उपचार नपाउँदा वीर अस्पताल प्राङ्गणमा ढिलै भए पनि बहिरङ्ग सेवाको टिकट खुल्छ कि भनेर कुरिरहेको भेटिनुभयो । छाती र घाँटी दुख्ने समस्याबाट उहाँ झण्डै एक वर्षदेखि पीडित हुनुहुन्छ । जिल्ला अस्पतालमा पटक पटक उपचार गर्दा पनि पीडा कम नभएपछि एक साता पहिले काठमाडौँ आएको उहाँले बताउनुभयो । “चार दिन पहिले जचाउँदा दिसा, पिसाब र रगत सबैको प्रतिवेदन लिएर आज आउनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “खै आज गार्डलाई सोध्दा त डाक्टरकै आन्दोलन भन्छन् ।”

अस्पतालको बहिरङ्ग सेवा ठप्प हुँदा उपचार नपाई फर्कनेमा एकान्तकुनाकी ७१ वर्षीया कुन्ती थापा पनि हुनुहुन्छ । मेडिकल र निजी अस्पतालमा पहिले जाँच गराएर औषधि खाँदा ठीक नभएपछि उहाँहरु वीर अस्पताल आउनुभएको हो । परिवारका सदस्यले अरूतिर पत्ता नलागेको रोग यहीँ पत्ता लाग्छ भनेकाले यहाँ आएको उहाँले बताउनुभयो । बहिरङ्ग सेवामा उपचार नपाएपछि शनिबार निजी अस्पतालमा जाने गरेर उहाँहरु फर्कनुभयो । थापाले भन्नुभयो, “उहाँदेखि गाडी फेर्दै आएँ, खै उसै फर्कनुप¥यो ।”

अस्पताल प्रशासनले भने उपचार नपाएर कोही पनि बिरामी फर्कन नपरेको बताएको छ । उपचारका लागि अस्पताल आइपुगेका बिरामीलाई आकस्मिक सेवा कक्षमा राखेर भए पनि सेवा दिइरहेको उपनिर्देशक टेकराज अर्यालले बताउनुभयो । बहिरङ्ग सेवा ठप्प हुँदा आकस्मिक उपचार कक्षमा भने बिरामीको चाप बढी रहेको उहाँले बताउनुभयो । आवासीय चिकित्सकले पूर्वसूचना नदिई सेवा प्रभावित गर्दा अस्पताल प्रशासन र बिरामी दुवैलाई अप्ठेरो परेको अस्पतालले बताएको छ । उहाँले भन्नुभयो, “बिरामी र तिनका आफन्तले पहिले नै जानकारी पाएको भए यहाँ आएर फर्कनुपर्ने थिएन ।” यो अस्पतालमा बहिरङ्ग सेवामार्फत दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

रुपन्देही– डा केसीको जीवन रक्षाको माग गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सकहरुले आज आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् । चिकित्क सङ्घको आह्वानमा अस्पतालका चिकित्सकहरुले बिहानैदेखि अस्पतालको सेवा बन्द गरेका हुन् । चिकित्सकहरुले सरकारी अस्पतालमा सेवा बन्द गरे पनि निजी अस्पताल र क्लिनिकमा भने बिरामी जाँच गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अधिकांश चिकित्सक अस्पतालमा हाजिर गरेर मात्रै फर्किएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ चिकित्सिकले मात्रै बिरामी जाँच गरेका थिए । तर फिजियिन तथा हाड जोर्नीबिशेषज्ञहरु भने अस्पताल आएर हाजिर गरेर मात्रै फर्किका थिए । चिकित्सकको आन्दोलनले ओपिडी सेवा बन्द भएको अस्पताल प्रशासनका नासु रेखा कार्किले जानकारी दिनुभयो ।

“डाक्टरले बिरामी जाँच्लान् भनेर ५० वटा टोकन बिरामीलाई बाँडे, तर डाक्टर त आन्दोलन छ भन्दै हिँडे,” अस्पतालका एक कर्मचारीले भने, “पछि बिरामीहरु मसँग झगडा गरे हामीले के जवाफ दिने ?”

चिकित्सकको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित हुँदा बिरामीहरु उपचार नपाई फर्कनु परेको थियो । टाढाबाट आउँदा पनि उपचार नपाई फर्कनु परेको भन्दै बिरामीहरु आक्रोेशित भएका थिए । बिरामीको जीवनको वास्ता नगर्नेले अरूको जीवन रक्षाको माग गर्न सुहाउँदैन नवलपरासीको बर्दघाटबाट उपचारका लागि आएका प्रकाश पाण्डेले भन्नुभयो, “उपचार नपाउँदा बिरामीको ज्यान गयो भने त्यसको जिम्मा आन्दोलन गर्नेले लिनुपर्छ ।” सरकारी अस्पतालमा चिकित्सकहरुले बिरामी जाँच नगरेपछि विभिन्न जिल्लाबाट आएका बिरामी अलपत्र परेका थिए । निजी अस्पतालमा जान पैसा धेरै छैन, कपिलवस्तुको लवनीबाट आफ्ना वृद्ध बाबुको उपचारका लागि आएका रामबाबु गुप्ताले भन्नुभयो, “बसौँ भने बाटा खर्च मात्रै छ जाउँ भने बुबाले श्वास फेर्न सकेका छैनन् ।”

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा कृष्णप्रसाद खनालले डा केसीको जीवन रक्षाका लागि आन्दोलन गरिए पनि अस्पतालको सेवा प्रभावित नभएको दाबी गर्नुभयो । “अन्य केही सेवा रोकिए पनि आकस्मिक सेवा र गम्भीर प्रकृतिका बिरामीको उपचार रोकिएको छैन,” उहाँले भन्नुभयो, “आन्दोलनका बाबजुद चिकित्सकले बिरामी जाँचेका छन् ।”
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : ३८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई