२०८३, २२ आश्विन शुक्रबार

फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद

फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद


काठमाडौँ, १३ माघ: झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो । झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खानेकुरा थियो । अर्काे झोलामा फोहरबाट सङ्कलन गरिएको खानेकुरा नजीकै बोराभित्र कतै फ्याँकिएको अवस्थाबाट टिपेर जोहो गरेको फम (म्याट), केही बाँसका दाउरा र पानी पर्दा छेकोका लागि एउटा थोत्रो छाता थियो ।काठमाडौँको बबरमहल अगाडिको यात्रु प्रतीक्षालय छेउमा आज अपराह्न ३ बजे यस्तो अवस्थामा हुनुहुन्थ्यो शङ्करप्रसाद । उहाँ फोहरबाट टिपेको खाना खाने तर्खरमा हुनुहुन्थ्यो । अर्काे खाना ल्याइदिने भन्दाभन्दै पनि उहाँले नुनमा मोलेर खाना खानुभयो ।

यस्तैमा दैनिकी गुजार्दै आउनुभएका उहाँको नेपाल पत्रकार महासङ्घको लेखा समिति संयोजक रोशन पुरीको पहलमा आज मानवसेवा आश्रमले उद्धार गरेको छ । पुरीका अनुसार भारत घर बताउने शङ्करप्रसाद सडकमै खाने र सडकमै सुत्दै आएको करीब दुई महीना भयो । थाहासञ्चार नेटवर्कका समाचार प्रमुखसमेत रहनुभएका पुरीले कार्यालय आउँदाजाँदा उहाँलाई देखेर मन खिन्न हुने गरेकाले उद्धारको पहल गरेको बताउनुभयो । “बाटोमा आउँदाजाँदा सधैँ बिजोग अवस्था देखिन्थ्यो, त्यसैले मन मानेन, आज आश्रमले उद्धार ग¥यो पुण्य काम भएको महसुश भएको छ,” पुरीले शङ्करप्रसाद उद्धारको अनुभव सुनाउनुभयो ।

चार दिनअघि उहाँले खबर गरेपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र काठमाडौँ संयोजक सुमन बर्ताैलाले उहाँलाई केही दिनदेखि उद्धारको प्रयास गर्नुभएको थियो । बेलाबेलामा खानेकुरा खोज्न जाने गरेकाले निकै पछ्याउँदासमेत फेला नपरेका शङ्करप्रसादलाई आज अपराह्न भेटिएपछि उद्धार गरेर मानवसेवा आश्रम गोङ्गबु लगिएको छ । फोहरबाट खानेकुरा नपाउँदा उहाँले आरीमा भात पकाएर खाने गर्नुभएको थियो । नेपाली भाषा नबुझ्ने उहाँले हिन्दीमा बताएअनुसार भारतबाट घुम्न पशुपति आएका बेला साथीसँग छुटेपछि पैसा नभएर स्वदेश फर्कन सक्नुभएन । विकल्पमा उहाँको बास सडकमा हुनपुग्यो । “पैसा दिनुस्, म घर जान्छु”, कुराकानीका क्रममा उहाँले भन्नुभयो ।

इलेक्ट्रिकल्सको काम जान्नुभएका शङ्करप्रसादले कसैले काम गर्न दिए कामसमेत गर्ने बताउनुभयो । घर जान इच्छुक भए पनि पैसा नभएको उहाँले दुःखेसो पोख्नुभयो । “अघिल्लो महीनासम्म राम्रै मान्छे जस्तो देखिनुहुन्थ्यो, दिनदिनै उहाँको अवस्था नाजुक बन्दै गयो,” पत्रकार पुरीले भन्नुभयो । सडकका असहाय, असक्त, मनोरोगी तथा मागेरसमेत खान नसक्नेहरुको उद्धार गर्दै आएको मानवसेवा आश्रमले उहाँसँगै आजमात्रै काठमाडौँका विभिन्न क्षेत्रबाट पाँच जनालाई उद्धार गरेको काठमाडौँका संयोजक सुमन बर्तौलाले जानकारी दिनुभयो ।

बर्ताैलाले भन्नुभयो, “उहाँलाई अब सरसफाइ गरेर, चिकित्सकीय सेवासँगै, मनोविमर्श सेवासमेत दिन्छौँ, अनि पारिवारिक वातावरणमा घुलमिल भएपछि आफ्नो ठाउँ ठेगाना बताउँदै जानुहुन्छ, त्यसपछि परिवार फेला पारेमा भारतमै पुगेर पनि परिवारमा पुनः मिलन गराउने प्रयास गर्छौं ।” परिवार फेला नपरेसम्म आश्रमले नै संरक्षण गर्ने उहाँले बताउनुभयो । यसअघि पनि भारतका धेरैलाई यसैगरी सडकबाट उद्धार गरी परिवार पत्ता लगाएर पुनः मिलन गराएको आश्रमले जनाएको छ । अहिले काठमाडौँको दुई आश्रममा मात्रै ९० जना सहयोगापेक्षीलाई उद्धार गरेर संरक्षण गरिएको उहाँले बताउनुभयो । देशका १२ जिल्लामा १४ शाखामार्फत सेवा दिँदै आएको आश्रमले अहिलेसम्म एक हजार ७०० को उद्धार गरेकामा ५०० भन्दा बढीलाई परिवारमा पुनःमिलन गराइसकिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बतउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ७ : ०४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य