२०८२, २३ चैत्र मंगलबार

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत


काठमाडौँ, २५ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जनमा वृद्धि, गरीबी निवारण र मुलुकको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “नेपालमा जडीबुटी ठूलो सम्भावना भएको क्षेत्र हो, जडीबुटीको उत्पादन बिक्रीका लागि दुई ठूला छिमेकी र अन्तर्राष्ट्रियस्तरमा ठूलो बजार छ ।” जडीबुटीको क्षेत्रमा थप अनुसन्धान र स्थानीय जनतामा पनि सचेतनाको आवश्यकता रहेको उहाँको भनाइ थियो । विभागले बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वनजङ्गलबाट तथा दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । विभिन्न अध्ययनका आधारमा सो क्षेत्रमा अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानको समेत निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिमाल र हिमाली जडीबुटीलाई ब्राण्डिङ गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हालसम्म भएका अध्ययन र नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जडीबुटी क्षेत्रको व्यावसायिकताका लागि जनशक्ति र संरचनागत विकासको आवश्यकता रहेको बताउनुभयो । विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडीबुटीको धेरै उत्पादन भएको क्षेत्र भएकाले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा उपमहानिर्देशक मोहनदेव जोशीले कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणसम्बन्धी, जडीबुटी विज्ञ डा भीष्म सुवेदीले नेपालमा जडीबुटीमा आधारित उद्यमशीलताको अवस्था र अर्का विज्ञ दीपेश प्याकुरेलले जडीबुटी व्यापारको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ३० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि