बनेपा २८ कार्तिक : विगत १६ वर्षअघि निर्माण गरिएको काभ्रेको बनेपामा रहेको काभ्रे बहुमुखी क्याम्पसको पर्खाल बनेपा नगरपालिकाको ६ नम्बर वडाले भत्काइदिएपछि क्याम्पस र नगरबीच विवाद चुलिदैं गएको छ । क्याम्पसले बनेपाका स्थायी बासिन्दा राजभाइ प्रधानको सहयोगमा राष्ट्रियस्तरको जनमत वाङ्मय पुस्तकालय तथा अनुसन्धान केन्द्रको भवन नक्शा पास नगरी केही समयअघि निर्माण थालेको थियो । भवनको शिल्यान्यास सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।
नक्शा पासविना भवन निमर्माण थालेकाले नगरपालिकाले निर्माण रोक्नका लागि पत्राचार गरेको बताइएको छ । क्याम्पसको यसअघि निर्माण गरिएका भवनहरु पनि नक्शा पास नगरीकनै निर्माण गरिएका छन् । काभ्रे क्याम्पसका प्रमुख केजी बैदारकाअनुसार पछिल्लो समय रेडक्रसको भवन त्यसैगरी नक्शा पास नगरी निर्माण थालिएको अर्को भवन हो जसलाई बनेपा नगरका मेयर लक्ष्मीनरसिंह बादेले शिल्यान्यास गरेका थिए । त्यसैगरी हिमालय मावि, आजाद माविको भवन पनि नगरपालिकामा नक्शा पास नगरीकनै निर्माण गरिएका भवनहरु हुन् । त्यसो त काभ्रेमा रहेको धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय समेतले नगरपालिकामा नक्शा पास नगरी आवश्यक भवनहरु निर्माण गरेका छन् ।
वडा र स्थानीयहरुले एकमहिनाअघि निर्माणधिन पुस्तकालय सँगैको पर्खाल भत्काएसँगै क्याम्पसले कुनैपनि निकायले जानकारी नगराइ भत्काएको आरोप लगाएको छ । आफ्नो स्वीकृति विना भत्काउने काम भएको र २० लाख बराबरको क्षति पु¥याएकाले क्याम्पस कानुनी उपचारको खोजीमा रहेको क्याम्पस प्रमुख केजी बैदारले बताएका छन् । ‘हामीले जाहेरी दिइसकेका छौं तर इलाका प्रहरी कार्यालयले अनुसन्धान थालेको छैन’ उनले भने हामी कानुनबमोजिम अन्तिमसम्म जान्छौं ।
क्याम्पसले मापदण्ड विपरित भवन निर्माण कार्यलाई अगाडि बढाएकाले मात्रै यो विवाद उत्पन्न भने भएको होइन । क्याम्पस स्थापना हुनभन्दा अघिका पूर्वतर्फका छिमेकीहरुलाई क्याम्पसको पर्खालका कारण आउजाउमा असहज भएकाले स्थानीयहरु क्याम्पसको विरुद्धमा खनिएका हुन् । क्याम्पस र नगरपालिका बीचमा विवाद बढेसँगै आफ्नो भोगाधिकारभित्र रहेको जग्गामा नगरले वडा कार्यालय राखेकाले त्यो हटाउनका लागि ३५ दिने सूचना समेत जारी गर्दै वडा कार्यालयलाई पत्राचार गरेको छ ।
क्याम्पसले स्थापना कालदेखि नै बस्तीलाई अवरोध हुनेगरी अग्लो पर्खाल निर्माण गरेकाले आफ्नो सेवाक्षेत्रका जनताको समस्याको सुनुवाई गर्नका लागि वडाले केही कदम उठाएको वडाअध्यक्ष सचितानन्द केसीको दावी छ । उनी भन्छन्, ‘अप्रिय जस्तो लागे पनि यो जनहितका लागि उठाइएको कदम हो । वर्षौदेखि क्याम्पसको पूर्वी कुनातर्फका स्थानीयले निकासको समस्या व्यहोर्दै आएका थिए । त्यसैले यो कदम उठाउने परेको हो ।’
क्याम्पसले पछिल्लो समय मापदण्ड तथा भवन निर्माण आचारसंहिता विपरित भवनको नक्शा पास नगरी पुस्तकालयका लागि भवन निर्माण थालेको थियो । यसरी भौतिक संरचना निर्माण गर्न थालेपछि शैक्षिक संस्थाको समेत संरक्षण गर्ने अधिकार पाएको स्थानीय तहले त्यसो नगर्नका लागि सुझाएको थियो ।
उता क्याम्पसले नानीदेखि लागेको बानी भने जस्तै नगर भनेको सुनेको नसुन्यै गरी अटेरीपन देखाएको थियो । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष लम्बोधर कायस्थसँग विवाद आएको यो विषयमा वडाले पटक÷पटक सल्लाह गर्दा जे गर्न सक्छस् गर भन्ने जवाफ आएपछि हामी बाध्य भएर क्याम्पसको पर्खाल भत्काएका हौं, रोशीको सम्बादमा एक वडा सदस्य बताउँछन् । पटक-पटक वडा कार्यालयबाट नक्शा पास नगरेसम्म निर्माण कार्य रोक्नका लागि रोक्का पत्र समेत बनेपा नगरपालिका वडा नं. ६ ले दिंदा कानुनको अवज्ञा क्याम्पसले गरेको ती सदस्यको दावी छ ।
स्थानीयबासी क्याम्पसबाट प्रचलित स्थानीय नियमावलीको समेत धज्जी उडाएर निर्माण कार्यलाई निरन्तरता दिएको भन्दै आक्रोशित देखिएका छन् । क्याम्पसले जवरजस्ती गरेको नगरप्रतिनिधि समेतको गुनासो छ । त्यसो त नगरपालिकाका कार्यकारी अधिकृतले पनि नक्शा पास नगरी निर्माण कार्य नगर्नु र थालिएको निर्माण कार्य तुरुन्त बन्द गरी मापदण्ड तथा आचारसंहिता पालना गर्न भने नभनेका होइनन् । यसलाई पनि क्याम्पसले कुनै टुपुच्छर लगाएन र निर्माण जारी राखेको थियो । अन्ततः जे गर्न सक्नुहुन्छ त्यो गर्नुस् आचारसंहिता र मापदण्ड क्याम्पसलाई लाग्दैन भन्दै निर्माण कार्यलाई निरन्तरता दिइरहेपछि क्याम्पसको पर्खालमा वडाको रोहवरमा उपभोक्ता समितिले डोजर चलाई दिएको हो, वडाअध्यक्ष सचितानन्द केसीले भने ।
काभ्रे क्यामपसले भोगाधिकार गरेको जग्गा नेपाल सरकारको नाममा रहेको छ । यसलाई क्याम्पसले पनि स्वीकार गरेको छ । पूर्जा क्याम्पसको नाममा रहेकाले भोकाधिकार रहेको जग्गा चलाउनका लागि आप्mनो मञ्जुरी लिनुपर्नेमा विना सूचना अध्यक्ष केसीका गुण्डाले भत्काइदिएको गुनासो क्याम्पस प्रमुखले गरेका छन् । उता वडाअध्यक्ष केसी भने आफ्नो वडाको शैक्षिक संस्थाको संरक्षण र संवद्र्धन गर्ने दायित्व आफूमा भए जस्तै जनताको सन्धी सर्पण र समस्याको निकास दिने जिम्मेवारीमा पनि आफूमा भएकाले कठोर कदम उठाउनु परेको बताउँछन् । यससँग सम्बन्धित स्थानीय सरकारको दायित्व र जिम्मेवारीभित्र परेकाले नै जनभावना अनुसार उक्त अबैधानिक निर्माण कार्य भत्काई समस्याको समाधान खोजिएको हो, वडाअध्यक्ष के.सी. बताउँछन् । क्याम्पस प्रमुख बैदार भने नक्शा पास नगरी निर्माण गरिएको भवन भत्काउने कानुनमा व्यवस्था नभएको बताउँदै उनले प्रश्न गरे, भत्काउने अधिकार कसले दियो ? कित्ता नम्बर १६५ मा बनाइएको वडाको टहरोलाई चाहिँ नक्शा पास गर्नु पर्दैैन ?’
‘अध्यक्ष केसी भने भत्काउने अधिकार वडालाई भएको बताउँछन् । यो अधिकार भएरै हामीले भत्काएका हौं’, उनी भन्छन्, ‘क्याम्पसले आफ्नो भोगाधिकार भएको जग्गा भन्ने दावी गरेको छ । लीजमा, भाडामा दिन पाउँछौं भन्छ । तर त्यस्तो होइन । काभ्रे क्याम्पसको जग्गा मन्त्रिपरिषदको निर्णयले पूर्ववत नेपाल सरकारको नाममा नै कायम गरिएको छ ।’ यसलाई हेर्ने स्थानीय सरकारले हो । यो स्थानीय तह सञ्चाल कार्यविधिले तोकेको अधिकारभित्रको कुरा हो ।
आफ्नो वडाको शैक्षिक धरोहरलाई अगाडि बढाउने दायित्व वडाकै भएकाले त्यसको संरक्षण, संवद्र्धन गर्न आफू प्रतिवद्ध भएको पनि उनले बताएका छन् । त्योे दायित्वबाट पन्छिन खोजिएको होइन उनले भने– मात्रै नियममा हिंडाउने प्रयास गरिएको हो । क्याम्पसका नियमसम्वत सबै कार्यमा आफ्नो साथ र सहयोग रहनेछ, केसीले खबरघरसंगको फोन सम्वादमा भने । यसैबीच वडाको रोहवरमा भएको सर्वपक्षीय भेलाले विवादको निकासका लागि ७ सदस्यीय सहयोग तथा समन्वय समिति निर्माण गरिएको बुझिएको छ । जसको संयोजकमा स्थानीय भेषराज शाह रहेको बताइएको छ ।
प्रतिक्रिया