२०८३, ३१ असार बिहीबार

यस्ताे छ चार दिनसम्म मनाइने छठ पर्वको महत्व : को हुन् छठी माता ?

यस्ताे छ चार दिनसम्म मनाइने छठ पर्वको महत्व : को हुन् छठी माता ?


चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्र्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठी माता र सूर्यदेवको पूजा अराधना गरी यो पर्व निष्ठाका साथ मनाइने गरिन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिनाका साथै छठी माताको पनि पूजा गरिने भएकाले यस पर्वलाई छठ पर्व भनिएको हो ।

को हुन् छठी माता ?
छठी माताका सम्बन्धमा धार्मिकग्रन्थ ‘मद्यदेवी भागवत् पुराण’को नवौं स्कन्धमा उल्लेख भएअनुसार सन्तान प्राप्तिको मनोकामना राखेर राजा प्रियव्रतले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको आहूतिका लागि पकाइएका खिर रानी मालिनीलाई प्रसादको रुपमा ग्रहण गर्न दिए र त्यो खिर खाएपछि निर्धारित समयमा रानीले एक पुत्ररत्न जन्म दिइन् तर उनी मृत अवस्थामा जन्मेका थिए ।

सन्तान प्राप्त भएको खुशी एकै छिनमा शोकमा परिणत भयो । मृत सन्तानको जन्मको खबरले राजा बिह्वल भए र सो सन्तानको अन्तिम संस्कारका क्रममा मसान घाटमा राजा प्रियव्रतले प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भएर राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै भनिन् ,“म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।”

उनले भनिन्, “हे राजन १ मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र दरिद्रता पनि अन्त्य हुनेछ ।”त्यसपछि राजाले देवीको आज्ञानुसार पूजा गरेपछि पुनः पुत्ररत्न प्राप्त भयो । कात्तिक शुक्ल षष्ठी तिथिमा षष्ठी देवीको पूजा शुरु भएको र कालान्तरमा षष्ठी शब्द अपभ्रंश हुँदै छठ वा छठी पर्वको नामले परिचित भएको देखिन्छ ।

छठमा सूर्यको पूजा
त्रेता युगमा भगवान् रामले वनवास हुँदा रावणको बध गरेको र वनवासको अवधि पूरा भएपछि कात्तिक शुक्लऔंसीे तिथिमा उनी अयोध्या फर्केकाले सोही साँझ अयोध्यावासीले खुशीयालीमा दीप प्रज्जवलित गरेर दीपावली मनाइएको कुरा राममायणमा उल्लेख छ ।

राजकाज सञ्चालन गर्नुअगावै रावणसँग भएको युद्धको दागबाट मुक्त हुन ऋषिहरूले भगवान् रामलाई कात्तिक शुक्ल षष्ठीे तिथिमा सूर्यको उपासना गर्न सल्लाह दिए । अविलम्ब राजकाज सञ्चालन गर्नुपर्ने भएकाले सोही तिथिमा रामले सूर्यको उपासना गरेर पाप मोचन गरेका र यी दुबै महत्वपूर्ण कार्य एउटै तिथिमा भएकाले संयुक्त रुपमा षष्ठी माता र सूर्यको पूजा गर्न थालिएको विश्वास गरिन्छ ।

यसैगरी सर्वशास्त्रज्ञ शौंनक मुनिले रोगग्रस्त, सन्तानहीन, अल्पआयुमा मृत्यु लगायत कष्टमा रहेका मानवको दुःख नाशको उपायबारे सूतजीसमक्ष जिज्ञासा राख्दा सोही समयमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउँदै, भने, “एक दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई नै वरण गर्नु नै उत्तम उपाय ठाने । सोही समयमा एक ब्राह्मण राजदरबारमा पुगेपछि राजाले विद्ववान ब्राह्मणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहीन रहेको र कतिपयको अल्पायुमा मृत्यु हुने गरेकाले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे ।”

त्यसपछि ब्राह्मणले सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेकाले कात्तिक शुक्ल पञ्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजाबारे जानकारी गराएकाका थिए । सोहीबेलादेखि षष्ठी तिथिमा विधिवत् सूर्यदेवको पूजा गरेपछि राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वकोे महत्व बढ्दै गएको उल्लेख छ ।

पर्वको विधि
यस पर्वका बर्तालुले कात्तिक शुक्ल चतुर्थीमा घरको पूजास्थलमा गाईको गोबरले लितपोत गर्छन् । त्यसपछि, स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमी तिथिका दिन ‘खरना’ गरिन्छ । सो दिन बर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुल्होमा खिर पकाउने गर्छन् ।
घर–घरमा देवीदेवताको पूजापाठको क्रममा सो खिर प्रसादको रुपमा चढाइन्छ । परिवारका सदस्यलाई प्रसादको रुपमा वितरण गरेपछि बर्तालुले पनि सो खिर प्रसादको रुपमा ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिने गर्छन् । त्यसपछि, लगातार ३६ घण्टाको कठोर उपवासका क्रममा षष्ठी तिथिमा अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कृषिमा आधारित पूजा सामग्री
कात्तिक महिनामा हुने यस पर्वलाई कृषिमा आधारित पर्वको रुपमा लिएको पाइन्छ । किसानको आफ्नै खेतबारीमा पाइने भण्टा, मुलासहितको बोट, हल्दीसहितको बोट, उखु, केरा, अलुवा, जुटा, नरिवल, सुथनी, फलपूmल, पान र सुपारीका साथै नयाँ बाँसको टोकरी, पङ्खा, माटोको भाँडो, माटोको कलात्मक हात्तीलाई पूजा सामाग्रीको रूपमा प्रयोग गरिन्छ । माटोको कलात्मक हात्तीको अग्रभागमा दियो बालिन्छ । । यसका साथै। विभिन्न प्रकारका मीठाई, ठेकुवा, भुसुवा, खजुरियालगायत पकवानहरु चढाइने गरिन्छ ।

किसानले कात्तिक महिनालाई खेतीपातीको अन्तिम महिनाको रुपमा लिन्छन् । दयनीय निम्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन र ती समुदायको शिल्पीको महत्व दर्शाउनका लागि पनि ती सामाग्री पर्वमा अनिवार्य गरिएको पाइन्छ ।

डुमले बनाएका बाँसका सामान, कुमालले बनाएका माटोका सामाग्री र कृषकले उत्पादन गरेका कृषिका सामाग्री यो पूजामा राखिने गरिएको पर्वका विश्लेषक कृपानन्द झा बताउनुहुन्छ । विभिन्न समुदायका मानिसहरु जलाशयको डिलमा सौहार्दपूर्ण वातावरणमा यो पर्व मनाउने भएकाले यस पर्वलाई विभेदरहित, समावेशी एवं साझा पर्वको रुपमा लिन थालिएको छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ७ : ५० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै