२०८२, १४ माघ बुधबार

शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीय : अध्यक्ष प्रचण्ड

शान्ति प्रक्रियामा तुलाधरको भूमिका स्मरणीय : अध्यक्ष प्रचण्ड


काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उहाँको योगदान स्मरणीय रहेको बताउनुभएको छ । आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।”

नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उहाँले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताउनुभयो । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताउनुभयो । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उहाँले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिनुभयो ।

यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुग्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गर्नुभयो । नेकपाका महासचिव विष्णु पौडेल स्व तुलाधरको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै राजनीतिक तथा मानवधिकार संरक्षणको क्षेत्रमा उहाँले गर्नुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

नेत्री हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भन्नुभयो, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।” उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुग्नुभएको थियो । मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक प्रक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रुपमा स्मरण गर्दै मानवाधिकार अनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियन्ताको रुपमा सम्झनुभयो ।

अधिकारकर्मी दमन्नाथ ढुङ्गानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा सम्झनुभयो । उहाँले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्नेमा बताउनुभयो । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । श्रद्धाञ्जलिका लागि अस्पतालमा तुलाधरका शुभेच्छुक तथा शुभचिन्तकको भीड लागेको थियो ।

नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरको पार्थिव शरीरलाई घरमा लगेर आज रातभरि पूजा तथा परित्राण पाठ गरिने जानकारी दिनुभयो । मस्तिष्काघात भएर उहाँलाई अघिल्लो शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबार छाती र मूत्रनलीमा सङ्क्रमण भएपछि नर्भिकमा ल्याइएको ज्वाइँ गौरी प्रधानले जानकारी दिनुभयो । गए राति ३ बजेदेखि भने उहाँको अवस्था जटिल हुँदै गएको उहाँले बताउनुभयो ।

छातीको गम्भीर सङ्क्रमणबाट आज दिउँसो १२ः४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो । उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई अहिले अस्पतालबाट लाजिम्पाटस्थित घरमा लगिएको छ । उहाँको सोमबार बिहान शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : ४८ बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,