२०८३, १७ आश्विन आईतबार

कागेश्वरीमा भोलि कागको विशेष मेला हुदै

कागेश्वरीमा भोलि कागको विशेष मेला हुदै


काठमाडौँ, १८ कात्तिक: कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ । नगरपालिकाको नामकरण भएकाले काग तिहारमा विशेष मेला समेत शुरु गरिएको हो । सनातनदेखि नै यहाँ भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्न आउने भक्तजनको भीड लाग्थ्यो । पूजा गर्न आउने भक्तजनका माध्यमबाट मेलासमेत लाग्ने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ । भाद्र शुक्ल अष्टमीमा कुनै कारणले चढाउन नपाएका भक्तजनले कार्तिक कृष्ण त्रयोदशीका कागेश्वरी महादेवलाई गोसाइँकुण्डको जल चढाउँछन् । नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउनुहुन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा लाखौँ हिन्दू र बौद्ध धर्माबलम्बीको भीड लाग्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम र नगरपालिकाको रु १३ लाख लागतमा २२७ किलोको कागको मूर्ति स्थापना गरिएको थियो ।

हजार किलोको कागको मूर्ति
धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस्, त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो कागको विश्वकै ठूलो मूर्ति बनाउन उपयोग हुनेछ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका –१ मा कागेश्वरी मन्दिर नजीकै रहेको लोकतान्त्रिक शहीद उद्यान गागलफेदीमा अनुमानित रु ५० लाखको लागतमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो ।

मूर्ति स्थापना गर्न स्तम्भ निर्माण भइसकेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो । शहीद उद्यान जाने मार्ग निर्माणका लागि रु पाँच करोड खर्च भइसकेको छ । “कवाड दिनुहोस् तपाईँ, सम्पदा बनाउँछौँ हामी’ अभियानअन्तर्गत धार्मिक पर्यटनमार्फत् रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न तथा यस क्षेत्रका गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी, सुन्दरीमाई, शिवपुरी र मणिचूडलाई चिनाउन कागको ठूलो मूर्ति स्थापना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

यसका लागि नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्टधातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्टधातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।
सुन, चाँदी, तामा, पित्तल, फलामलगायत धातुका सामग्री कवाडीलाई नदिई सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी– आलापोट– भद्रवास– डाँछी– मूलपानी– गोठाटारलगायत क्षेत्रमा सार्वजनिक पदयात्रा गर्ने तयारीसमेत भइरहेको छ ।

कागको मूर्ति बनाउन रु ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नाम कागेश्वरी धामको शिलालेखमा उल्लेख गरिनेछ । सहयोग गर्न चाहनेले लोकतान्त्रिक शहीद उद्यान गागल निर्माण उपभोक्ता समितिका नाममा रहेको कृषि विकास बैंकको खाता नं. ०२१०८०११८२७३७०१७ मा रकम जम्मा गर्न सक्नेछन् । कागेश्वरी महादेवलाई राष्ट्रियस्तरको धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल– जोरपाटी– डाँछी– भद्रवास–आलापोट, चाबहिल– जोरपाटी– गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल– जोरपाटी– ब्रह्मखेल– गागलफेदी हुँदै पनि पुग्न सकिने वडाध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

प्रदेश नं ३ सरकारले लोकतान्त्रिक शहीद उद्यान गागलफेदी जाने सडक निर्माणका लाग चालु आर्थिक वर्षको बजेटमा रु ३८ करोड छुट्याएको छ । बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो । उद्यानको विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । कागेश्वरी धाम निर्माणका लागि नगरपालिकाले पनि रु पाँच करोड बजेट व्यवस्था गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो । धाम बनाउन प्रदेश सरकारले पनि रु ३० लाख बजेट राखेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : ४२ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार