काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीलाई गुटगत राजनीतिबाट मुक्त गर्दै संगठन, नीति र नेतृत्वको कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने एजेन्डा अघि सारेका छन्।
महरले कांग्रेसको आन्तरिक एकता, अवसरको न्यायोचित वितरण, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता, पुस्तान्तरण र नयाँ पुस्ताको निर्णायक सहभागितालाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेका छन्।
काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियामा सीमित नगरी कस्तो कांग्रेस, कस्तो संगठन र कस्तो नेपाल बनाउने भन्ने वैचारिक बहसको थलो बनाउनुपर्ने बताए।
‘अब कांग्रेसलाई गुटगत राजनीतिबाट मुक्त गर्दै भुइँ तहका कार्यकर्ताको आवाज सुन्ने, अवसरको न्यायोचित वितरण गर्ने र नयाँ पुस्तालाई जोडेर अघि बढाउने मेरो प्रमुख एजेन्डा हो,’ महरले भने।
उनका अनुसार कांग्रेसभित्र केन्द्र र भुइँ तहबीच दूरी बढेको छ। स्थानीय तहका कार्यकर्ता तथा जनताबाट आएका सुझाव पार्टीको नीति र निर्णय प्रक्रियामा प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ छ। पार्टी संगठनलाई चुनावका बेला मात्र सक्रिय हुने संरचनाबाट निकालेर नियमित रूपमा जनतासँग जोड्नुपर्ने उनले बताए।
गुटभन्दा संगठन, पदभन्दा जिम्मेवारी
महरले कांग्रेसलाई व्यक्ति र गुटको प्रभावबाट माथि उठाएर संस्थागत संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। अवसर र जिम्मेवारी वितरणमा पारदर्शिता तथा न्यायोचित आधार बनाउनुपर्ने उनको प्रस्ताव छ।
डडेल्धुरा कांग्रेसले हालै महरलाई १५औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो। उक्त निर्णयमा संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता र पुस्तान्तरणका विषयलाई प्राथमिकतामा राखिएको छ।
एआईदेखि जलवायुसम्म कांग्रेसको नयाँ नीति
महरले बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुसार कांग्रेसको नीति र संगठनात्मक संरचना पुनःपरिभाषित गर्नुपर्ने बताए। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), जलवायु परिवर्तन, डिजिटल प्रविधि, विश्वव्यापीकरण र बदलिँदो विश्व अर्थतन्त्र जस्ता विषयलाई पार्टीको राजनीतिक बहस र नीति निर्माणसँग जोड्नुपर्ने उनको भनाइ छ।
उनले राजनीतिलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्ने भन्दै रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता र उत्पादनका सवाललाई पार्टीको राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने बताए।
जेन–जी र अल्फालाई निर्णय प्रक्रियामा जोड्ने प्रस्ताव
महरले नयाँ पुस्तालाई पार्टीमा केवल समर्थक वा कार्यकर्ताका रूपमा सीमित नराखी निर्णय प्रक्रियाकै तहमा सहभागी गराउनुपर्ने बताए। ‘पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गरेर कांग्रेसलाई अघि बढाउनुपर्छ,’ उनको भनाइ छ। उनले पुस्तान्तरणलाई नारामा मात्र सीमित नराखी संगठनको जिम्मेवारी र नेतृत्व विकासमा व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिए।
महाधिवेशनमा नेतृत्वसँगै विचारको बहस
महरले १५औँ महाधिवेशनलाई नेतृत्व चयनको प्रतिस्पर्धाभन्दा माथि उठाएर कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। ‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो संगठन र कस्तो नेपाल बनाउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ,’ उनले भने। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। कांग्रेसले महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने जनाएको छ।







प्रतिक्रिया