नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा दुई जना भने सकुशल रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको पहिचान खुलेको छ। अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा–१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा र बर्दिया राजापुर–९ का २८ वर्षीय सञ्जय थारु रहेका छन्।
त्यस्तै बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याएको जनाएको छ। दुर्घटनापछि राजमार्गमा केही समय आवागमन प्रभावित भएको थियो। बस कसरी नियन्त्रणबाहिर गयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।







प्रतिक्रिया