२०८३, २१ बैशाख मंगलबार

अब वैदेशिक रोजगारीका सबै सूचना अनलाईनमा

अब वैदेशिक रोजगारीका सबै सूचना अनलाईनमा


काठमाडौँ, २५ भदौ: सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ । सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस प्रणालीले वैदेशिक रोजगारीका क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी र पहुँचयोग्य हुुनुका साथै गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पु¥याउने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत प्रणालीको प्रयोगले रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने व्यक्तिका तथ्याङ्क अद्यावधिक गर्न सहयोग मिल्नेछ ।

त्यस्तै अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वयलाई प्रभावकारी बनाउन पनि यसले सहयोग पु¥याउँछ । एकीकृत प्रणालीका कारण अनुगमन प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नुका साथै यसबाट प्राप्त अनुभव आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रम तर्जुमा गर्नमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत सूचना प्रणाली आगामी असोज १५ गतेदेखि लागू हुने छ । यस प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोबाइल एप्सबाट समेत प्राप्त गर्न सकिने छ । यसका लागि ‘वैदेशिक रोजगार’ मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ । हाललाई एन्ड्रोइड भर्सनमा उपलब्ध सो एप्सबाट श्रम स्वीकृति नवीकरणको फारम पनि भर्न सकिने व्यवस्था गएिको छ । वैदेशिक रोजगारसँग सरोकारभएका (म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी) ले वैदेशिक रोजगार सूचना प्रणालीमार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् ।

यस प्रणालीमा रोजगारीमा गएका कामदारको तस्बिर र बायोमेट्रिक (आँखा र औँठा छाप)सहितको विस्तृत विवरण रहने छ । वैदेशिक रोजगारसम्बन्धी गुनासा र उजुरीको विद्युतीय अभिलेखसमेत अनलाइनमार्फत अघि बढाउन सकिने छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न सकिने छ भने श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीको कार्यसम्पादन विवरण विद्युतीयरुपमा रहने छ । अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सम्पूर्ण इजाजत प्राप्त म्यानपावर, अभिमुखीकरण तालीम प्रदान गर्ने संस्थासहित सरोकारवालाको अनुगमन कार्यमा पनि सहजीकण हुनेछ ।

यस प्रणालीले नक्कली माग पत्र बनाई नेपाली कामदार ठग्ने म्यानपावर कम्पनीको धन्दा बन्द गरिदिएको छ । अब गन्तव्य मुलुकबाट आउने मागपत्र यस प्रणालीमार्फत सम्बन्धित मुलुकका दूतावास तथा नियोगले प्रमाणीकरण गरेपछि मात्र म्यानपावर व्यवसायीले कामदार लैजान पाउने छन् । प्रमाणीकरण कार्यमा दूतावासका दुई जना कर्मचारीको अनिवार्य सहभागिता रहने सुनिश्चिित सो प्रणालीले गरेको छ । यसबाट गन्तव्य देशका रोजगारदाताको वास्तविक विवरण सफ्टवेयरमा प्रविष्ट हुने छ । मागपत्रमा हुनसक्ने त्रुटि तथा ठगी न्यूनीकरण कम गर्न पनि सहयोग पुग्नेछ । प्रणालीमार्फत तोकिएबमोजिमको सेवा, सुविधा नदिने रोजगारदतालाई गन्तव्य मुलुकका दूतावासले कालोसूचीमा राख्न सकिनेछ ।

एकीकृत सूचना प्रणालीले आप्रवासी कामदारले अपनाउनुपर्ने विविध विषयमा समेत जानकारी दिनेछ । अनलाइनबाटै श्रम स्वीकृतिको फारम भर्न, पेश गर्न र श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन सकिने छ । यसैगरी आफ्नो श्रम स्वीकृति र पूर्वस्वीकृति भए÷नभएको एसएमएस, वेभसाइट, मोबाइल एप्स र अनलाइन प्रणालीमार्फत थाहा पाउन तथा वैदेशिक रोजगार विभागमा भएका उजुरीको अवस्था मोबाइल एप्सबाट जानकारी लिन सकिने छ ।

यो प्रणालीले वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने कम्पनीलाई पनि जवाफदेही बनाइएको छ । बिमा कम्पनीले विस्तृत सूचना तथा बिमालेखसहित प्रत्येक कामदारको बिमा गरेको प्रमाण अनलाइन सूचना प्रणालीमार्फत पेश गर्नुपर्नेछ । यसरी बिमालेख जारी गर्ने प्रक्रियामा बिमा कम्पनीका दुई जना कर्मचारीको अनिवार्य संलग्ना हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले पनि अनलाइन प्रणालीमार्फत नै स्वास्थ्य परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने छ । सूचना प्रणालीलाई अध्यागमन विभागसँग आबद्ध गरेपछि श्रम स्वीकृति लिएका, विदेश गएका र फर्की आएका कामदारको यथार्थ विवरण, विदेशमा कार्यरत कामदारको वास्तविक विवरण प्राप्त गर्न सहज हुनेछ ।

त्यस्तै रोजगारीका क्रममा गन्तव्य मुलुकमा कामदार अलपत्र परेमा उद्धार प्रक्रिया थाल्न सरकारलाई सहयोग हुने छ । श्रम स्वीकृति प्राप्त कामदार विदेश गए÷नगएको पनि यस प्रणालीबाट थाहा पाउन सकिने छ ।

एकीकृत प्रणाली लागू भएपछि पुरुषको कोटामा महिला र महिलाको कोटामा पुरुषको श्रम स्वीकृति हुने गम्भीर त्रुटिमा सुधार आउने विश्वास मन्त्रालयको छ । यसले श्रम स्वीकृतिको लैङ्गिक विवरण यथार्थ रुपमा प्राप्त गर्न सकिने छ । त्यस्तै यस प्रणालीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अभिमुखीकरण तालीम नदिई प्रमाणपत्र दिने प्रवृत्तिको पनि अन्त्य गरिदिएको छ । बायोमेट्रिक हाजिरीका आधारमा अभिमुखीकरण कक्षा सञ्चालन हुने र त्यस्तो कक्षाको अवधि अनलाइन प्रणालीमै रेकर्ड हुने हुँदा तोकिएको भन्दा कम हुने गरी कक्षा लिएमा थप प्रक्रिया अगाडि बढ्न नसक्ने प्रणालीले सुनिश्चित गरेको छ ।

झन्डै एक वर्षको मेहनतमा यो प्रणाली निर्माण गरिएको हो । यस प्रणालीभित्र रहेको तथ्याङ्क तथा व्यक्तिगत विवरणको सुरक्षा गर्न सूचना प्रविधि क्षेत्रको उच्चतम प्रविधिको प्रयोग गरिएको छ ।

सबै जानकारी मोबाइल एप्सबाट
वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण जानकारी मोबाइल एप्सबाटै प्राप्न गर्न सक्ने गरी ‘वैदेशिक रोजगार’ एप्स निर्माण गरिएको छ । एप्सबाट पूर्वस्वीकृतिको विवरण प्राप्त हुने, राहदानी र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन सकिने छ । इजाजतप्राप्त संस्था, अभिमुखीकरण तालीम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्था र अन्य विवरण पनि एप्समै उपलब्ध हुनेछ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बिमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एप्सबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एप्सबाटै प्राप्त गर्न सकिने छ । त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिने छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : १५ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष