कृष्ण खुलाल, अध्यक्ष, खानीखोला गाँउपालिकाका
गाँउपालिकाको गाँउ परिषद् सम्पन्न भएको छ, के के योजनालाई महत्व दिनुभएको छ नि ?
हामीले गत असार २९ गते गाँउपालिकाको गाँउसभा सम्पन्न ग¥यौँ । गाँउसभाबाट विशेष गरि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखेका छौँ । खानीखोला गाँउपालिका भौगोलिक हिसाबले अत्यन्तै दुर्गम तथा सडक विस्तारको काम समेत धेरै नै बाँकी रहेको कारण सबैभन्दा बढि बजेट सडकलाई छुट्याएका छौँ ।
स्थानियहरुलाई गाँउपालिकाको अनुभुति दिनुभएको छ नि ?
जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि गाँउपालिकामा राम्रै काम भएको अनुभुति हामीले स्थानियबाट पाएका छौँ । काम गर्ने सवालमा सबैलाई खुसी पार्न त सकिएन होला तर अधिकांस जनता गाँउपालिकाको कार्यप्रति सकरात्मक छन् । पहिलाको तुलनामा खानीखोला गाँउपालिकामा सडक विस्ताको काम धेरै भयो । गाँउपालिका भित्रमा ४९ किलो मिटर सडक विस्तार हुनु वास्तमै उपलब्धीमुलक कार्य हो । यसबाट स्थानिय प्रत्यक्ष लाभान्वीत भएका छन् ।
वडामा सचिवहरु खटिएका छन् कि पहिला कै जस्तो जिल्ला सदरमुकामबाट सेवा सञ्चलन भएको छ ?
वडा अध्यक्षहरु वडाहरु मै बसेर जनतालाई सेवा दिइरहेका छन् । वडा नं. ५ र ६ को कार्यालय ताल्ढुङ्गामा छ भने अन्य वडाहरु १, २, ३, ४ र ७ मा भने आफ्नै वडाबाट सेवा सुचारु भएको छ । वार्षिक बजेट फछ्र्यौट गर्ने समय अर्थात असार मसान्तमा भने गाँउपालिकामा बैँक विस्तार हुन नसक्दा गाँउपालिकाको टिम नै सदरमुकाम आएर काम गर्नुपर्ने बाध्यता हामीलाई थियो ।
खटाइएका कर्मचारीहरु पनि सँधै गाँउपालिका भेटिँदैनन भन्ने स्थानियहरुको गुनासो सुनिन्छ नि ?
मैले भनिसकेँ गत असार मसान्तमा रकम फछ्र्यौट गर्ने समयमा गाँउपालिकामा बैँक नहुँदा जिल्ला सदरमुकाममा बसेर काम गर्नुपर्ने बाध्यता हामीमा छ भनेर । त्यो समयमा भन्दा बाहेक अन्य समयमा कर्मचारीहरु गाँउपालिका मै बसेर जनतालाई सेवा दिइरहेका छन् ।
जनप्रतिनिधि र कर्मचारीको बीचमा जनसेवाका लागि समन्वय कस्तो भएको छ ?
खानीखोला गाँउपालिकाका सबै कर्मचारीहरुसँग सकरात्मक सम्बन्ध छ भन्दा फरक पर्दैन । किनकी कर्मचारीहरु र जनप्रतिनिधिहरुबीच आपसी छलफल, सरसल्लाह बमोजिम नै कार्यहरु सम्पन्न हुने गरेका छन् । गाँउपालिकामा आवश्यक केहि जनशक्तिहरु नियुक्ति गर्ने काम भने बाँकी नै छ । यस कार्य छिटो भन्दा छिटो सम्पन्न गर्ने योजना छ ।
तपाँईको स्थानिय तहको केन्द्रको अवस्था कस्तो छ ? कार्यालय व्यवस्थापन त सकिसक्नुभयो होला नि ?
गाँउपालिकाको केन्द्रको अवस्था हेरेर नै अन्य स्थानको अवस्था मुल्याङ्कन गरिने हुँदा पनि केन्द्रको विकासको योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ । हामीले गत वर्षको योजनामा परेको ५० लाख रकमबाट ताल्ढुङ्गाको भित्रि सडक विस्तार तथा ढल निकासको कार्यलाई सम्पन्न गरेका छौँ । यस वर्ष पनि उक्त सडकलाई पिच गर्नको लागि ७० लाख रकम छुट्याइएको छ । कार्यालय व्यवस्थापनका सन्दर्भमा तत्कालका लागि सामुदायिक भवनबाट सेवा सञ्चालन गरिएको छ । गाँउपालिकाको आफ्नै भवन नबनुन्जेल सम्मको लागि सामुदायिक भवनबाट नै सेवा सञ्चालन हुनेछ ।
गाँउपालिकाको दुर्गम वडा र केन्द्रबिचको दुरी कस्तो रहेको छ ? वडाबाट केन्द्रसम्म आउन बास बस्नुपर्ने अवस्था छ कि छैन ?
खानीखोला गाँउपालिकाको केन्द्र ताल्ढुंगाबाट वार्ड नं. २, ४ र ३ नजिक पनि छ र सडक विस्तार गरि आवातजावतमा समेत सहज भएको छ भने वार्ड नं. १, ६ र ७ को वडा कार्र्यालय रहेको स्थानबाट केन्द्रमा सडक विस्तारको कार्य भने सम्पन्न भइसकेको छैन । अब तत्कालै वडाबाट केन्दसँग जोड्ने सडकको निर्माण कार्य सम्पन्न गर्ने तयारी छ । ताल्ढुंगाबाट टाढा रहेको स्थान, कोठे तथा च्याम्राङ्गवेशीको सिमानामा रहेको गाँउहरुबाट भने विहान चाँडै हिँडेको अवस्थामा मात्रै गाँउपालिकाको काम सकेर आफ्नो घर फर्किन सक्छन् ।
गत आर्थिक वर्षमा अधिकांश बजेट सडकमै लगानी भयो भन्नु भयो , कत्ति किलो मिटर सडक विस्तार गर्न सफल हुनुभयो ?
हामी जनप्रतिनिधि निर्वाचित भएर आएपश्चात् खानीखोला गाँउपालिकामा १ वर्षको अन्तरालमा ४९ किलो मिटर सडकको विस्तार भएको छ । सदरमुकामबाट २ दिनको बाटो हिँडेर पुग्नुपर्ने खानीखोला बासीको समस्या हामीले समाधान गरिसकेका छौँ । बनेपा—पनौती—खोपासी हुँदै ताल्ढुङ्गासम्मको सडकको ट्रयाक समेत गाँउपालिका कै नेतृत्वमा खुल्यो । त्यस्तै ताल्ढुङ्गाबाट महाङ्काल, ललितपुर हुँदै काठमाडौसम्मको सडकको ट्रयाक समेत हाम्रै नेतृत्वमा खुलेको थियो । अब खानीखोला बासीलाई पायक पर्ने सबैभन्दा छोटो दुरीको सडक खोपासी ताल्ढुङ्गा सडकमा आगामी मंसिरबाट बस सञ्चालन गर्नको लागि सडक विस्तार कार्यलाई अगाडी बढाउन लागिएको छ ।
विपद् व्यवस्थापनका लागि तयारी र योजना कस्तो बनाउनु भएको छ ?
मैले पहिला पनि भनिँसकेँ, खानीखोला गाँउपालिका जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढा रहेको ठाँउ हो र भौगोलिक दृष्ट्रिकोणबाट अत्यन्तै दुर्गम भएको कारण पनि यहाँ विपद्को जोखिम अत्यन्तै छ । बाढी, पहिरो, आगोलागिको जोखिम पनि उत्तिकै छ । त्यस्ता भइपरि आउने जोखिमको लागि यस वर्ष १५ लाख रकम छुट्याइएको छ । आपत्कालिन अवस्था आइपरेको खण्डमा जिल्ला स्तरिय समितिहरुसँग समन्वय गरेर तत्काल समस्याको समाधानतर्फ जाने योजना छ । गत श्रावण २१ गते खानीखोला गाँउपालिकाको वार्ड नंं ७ महांंकाल नजिकको बाग्मति खोला भेल आएपछि २ जना व्यक्तिलाई तत्काल हेलिकप्टरद्धारा उद्धार गरिएको थियो ।
यहाँको स्थानीय तहमा आन्तरिक श्रोतलाई वृद्धि गर्न के कस्ता योजना निर्माण गर्नु भएको छ ?
खानीखोला गाँउपालिकाको सम्भावित आन्तरिक श्रोत भनेको ढुङ्गा खानी हो । यहाँको ढुङ्गालाई प्रशोधन गरि सिमेन्ट फ्याक्ट्री सञ्चालन गर्ने योजना छ । त्यस्तै व्यवसायिक रुपमा दुग्ध उत्पादन, पशुपालन, बाख्रापालन, अम्रिसो खेती, तरकारी खेती, फलफुल खेती, कफि खेती आदिलाई विस्तार गर्ने योजना छ । त्यसको लागि बजेट समेत विनियोजन गरिएको छ ।
पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरु योजनाहरु के कस्तो निर्माण गर्नु भएको छ ?
खानीखोला गाँउपालिका भित्र रहेका सम्भावित पर्यटकिय स्थलहरुमध्ये भिमसेनस्थानमा रहेको चाकल भिमसेनको मन्दिर, हात्तिसारभन्दा माथि रहेको सेन दरवार, लाप्चेको गुफा, महाकालमा पशुपतिको मन्दिर बनाउने, सिम्लेमा गुम्माको पुनर्निर्माण, डाँडागाँउको गुम्बाको पुनर्निर्माण तथा विकासका लागि बजेट सहितको गुरुयोजना तयार गरिएको छ । खानीखोला गाँउपालिकाको केन्द्र ताल्ढुङ्गामा सबै जातजाति भाषाभाषिलाई समेटेर मन्दिर बनाएर पर्यटकिय क्षेत्रलाई विकास गर्ने योजना छ ।
अल्पसंख्यक र लोपोन्मुख जातिको संरक्षणको लागि तपाईको निति तथा कार्यक्रमले कसरी समेटेको छ ?
खानीखोला गाँउपालिकामा विषेश गरि अल्पसंख्यक जातीको रुपमा पहरी र माझी जातका मानिसहरु बसोबास गर्दछन् । त्यस्ता जातजातिको संरक्षण तथा जिवनस्तर विकासका लागि सेवा सुविधामा सहुलियत तथा व्यवसायिक रुपमा बंगुरपालन गर्नको लागि रकम समेत छुट्याइएको छ ।
तपाँईले वेरोजगार र युवालक्षित कार्यक्रम कस्तो बनाउनु भएको छ ?
खानीखोला गाँउपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि सदरमुकाम, राजधानी लगायत विदेशी भुमिमा जान बाध्य छन् । पढेलेखेका युवाहरुलाई उनिहरुको योग्यताको स्तर हेरी स्थानिय स्तरमै रोजगारी दिने र व्यवसाय गर्न चाहने वेरोजगार युवावर्गको लागि व्यवसायिक तालिमहरु सञ्चालन गरि व्यवसायिक कार्यमा प्रोत्साहित गर्ने योजना छ ।
प्रतिक्रिया