धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवको रौनक जति दिन बित्दै गयो उत्ति कम हुदैँ गएको छ । सामान्य तय यसअघिका महोत्सवहरुमा सुरुको भन्दा अन्तिम दिन नजिकिदै गर्दा रौनक ह्वात्तै बढ्ने गरेको थियो । तर धुलिखेल महोत्सवमा भने आइबार पाँचौँ दिनसम्म आइपुग्दा त्यस्तो देखिएको छैन् । जम्मा २ सय दर्शकले महोत्सव अवलोकन गरेको पाइएको छ ।महोत्सव १० दिनसम्म चल्ने छ । अझै पाँचदिन बाँकी नै छ । तर महोत्सवले धुलिखेलकै दर्शकलाई समेत छुन सकेको छैन् । सातागोता र भनसुन बाहेक भित्री रुपमा महोत्सवलाई खासै धुलिखेलका ब्यवसायीहरुले समेत रुचाएको पाएको छैन् । राजधानीबाट ३० किलोमिटरको दुरीमा आयोजना गरिएको महोत्सवमा शनिबार र सार्वजनिक बिदा बाहेक अन्यदिनमा राजधानीका दर्शकलाई महोत्सवले तान्न पटक्कै सकेको छैन् ।
स्टल पाँचौ दिन पनि रित्तै
पर्यटकीय नगर धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवको पाँचौ दिन पनि स्टलहरु रित्तै छन् । आयोजकले थप १० वटा स्टल थपिएको दाबी गरेको छ । तर स्टल घर रित्तै छन् । १५० वटा स्टल घर राखिएका छन् । अहिलेकै अवस्था हेर्ने हो भने महोत्सव सकिने दिनसम्म पनि यी सबै स्टलबाट कारोबार हुने छैन् । तर स्टलको ठेक्का पाएको मंगला एमुजमेण्ड प्रा।लि ले भने सबै स्टल बुकिङ भैसकेको कुरा बताइरहेको छ । प्रश्न यहाँ छ कि बुकिङ शुल्क तिरेका स्टलमा ब्यवसायीले किन सामाग्री राखेनन ?
उद्योग वाणिज्यसंघ र नगरपालिकाको जुहारी
महोत्सवको मूख्य आयोजक रहेको धुलिखेल उद्योग वाणिज्य संघ र धुलिखेल नगरपालिका बीच वाकयुद्ध जस्तै देखिएको छ । महोत्सव उद्घाटनका बेला धुलिखेल नगरपालिका प्रमूख अशोक कुमार ब्याञ्जु धुलिखेलमै थिएनन् । उक्त सभामा नगरपालिकाको नेतृत्व गर्दै उपप्रमूख बिमला शर्मा पुगेकी थिइन् । महोत्सव चलिरहदाँ धुलिखेल नगरपालिकाको नगरसभा पनि अहिले चलिरहेको छ । नगरपालिका निर्वाचित पदाधिकारीहरु नगरसभामै ब्यस्त छन् । नगरपालिकाले आफ्नो नगरसभा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै चलिरहेको जनाएको छ । जसका कारण महोत्सवमा जनप्रतिनिधिहरुको खासै उपस्थिति देखिदैन् ।
महोत्सव आयोजनाको तयारी हुदैँ गर्दा धुलिखेल नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले नगरपालिका आफै मूख्य आयोजक रहेर महोत्सव सम्पन्न गर्न चाहेको प्रस्ताव धुलिखेल उद्योग वाणिज्यसंघका पदाधिकारीलाई राखेका थिए । तर उद्योग वाणिज्यसंघले उनको प्रस्ताव स्वीकार गरेनन् । र महोत्सव मंगला एमुजमेण्ड प्रा।लि लाई ठेक्कामा दिइयो । यस अघिका महोत्सवहरुमा विभिन्न समिति र उपसमिति गठन गरि महोत्सव सम्पन्न गरिएको थियो । तर यो पटक भने धुलिखेल उद्योग वाणिज्य संघले जिल्लामा उत्पादन भएका सामाग्रीको प्रचार प्रसार भन्दा पनि पैसा कमाउने रणनीति अन्तर्गत ठेक्कामा दिएपछि संघभित्रैका केहि पदाधिकारीहरुले महोत्सवको खुलेरै विरोध गर्न थालेका छन् । नगरपालिकाका वडाध्यक्षहरुले यसलाई नितान्त कमाउन धन्दा भएको टिप्पणी गरेका छन् । नगर परिषद् चलिरहे पनि समय मिलाएर महोत्सव स्थलमा समय मिलाएर पुग्ने उपप्रमूख बिमला शर्माले बताइन् ।
चिया पसलमा कुरा काट्ने, महोत्सव स्थलमा पुग्ने
धुलिखेलका हरेक चिया पसलमा महोत्सवको तीब्र आलोचना धुलिखेल उद्योग वाणिज्यसंघकै पदाधिकारीबाट हुन थालेको छ । यद्यदि चिया पसलमा आलोचना गरेपनि पछि अप्ठ्यारो पर्ने भन्दै महोत्सव स्थलमा भने देखापर्न पुग्ने गरेका छन् ।
महोत्सवमा रत्नपार्कमा बेच्न राखिएको कपडा, भाडाकुडाँ, चुरापोते जस्ता स्टल बाहेक नागरिकका दैनिक उपभोग्य वस्तुहरुलाई आयोजकले समेट्नै सकेको छैन् । काभ्रे जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकालाई चिनाउने छुटा छुट्टै उत्पादन छन् । तर आयोजकले यो पक्षलाई पूरै बेवास्था गरेको जनप्रतिनिधिहरु बताउँछन् । महाभारतको कपी, पाँचखालको आलु, चौरीदेरालीको चिया, बेथानचोकको दुध, पनौतीको साँस्कृतिक पक्ष तपाई हेर्न चाहानुहुन्छ भने महोत्सव स्थल पुगेर कल्पना मात्रै गर्ने हो । देख्न पाइदैन् ।






प्रतिक्रिया