काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका विषयमा उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।
प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय हितका महत्वपूर्ण मुद्दालाई प्रभावकारी रूपमा उठाउन नसकेको भन्दै आलोचना गरे। उनले भ्रमणले देशलाई लज्जित बनाएको टिप्पणीसमेत गरे।
विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा कार्यालयमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रियताको विषयमा अभिव्यक्ति दिने र विदेश भ्रमणमा जाने नेताहरूलाई अर्ती–उपदेश दिने प्रधानमन्त्रीले अहिले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय सरोकारका विषय उठाउन नसकेको उनको आरोप थियो।
‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन,’ पोखरेलले भने।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवाद भ्रमणको छलफलमा नपरेको विषयलाई पनि गम्भीर रूपमा उठाए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीले राष्ट्रिय हितका मुद्दामा प्रभावकारी पहल गर्न नसकेको टिप्पणी गरे।
नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका पालामा गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसमेत भारतले बुझ्न नमानेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले आग्रह गर्न नसकेको उनको भनाइ थियो।
त्यस्तै, पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा पनि भ्रमणबाट ठोस सहमति हुन नसकेको बताए। हवाई रुट र उडानको उचाइसम्बन्धी विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरिए नेपालको अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुन सक्ने उनको आशंका थियो।
भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि उनले प्रश्न उठाए। विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई नै उपलब्धिका रूपमा प्रचार गर्न थालेको भन्दै उनले राजनीतिक दृष्टिकोणमा देखिएको विरोधाभास औँल्याए।
पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणको मूल्याङ्कन प्रचारित उपलब्धिका आधारमा नभई नेपालको राष्ट्रिय स्वाभिमान, सीमा समस्या, हवाई सम्पर्क र दीर्घकालीन राष्ट्रिय हितका सवालमा प्राप्त परिणामका आधारमा हुनुपर्ने धारणा राखेका छन्।







प्रतिक्रिया