सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सिन्धुलीमा तीन दर्जनभन्दा बढीले दाबी गरिरहँदा पार्टीले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मा कमलामाई नगरपालिकाका लागि २ जनाको मात्र आवेदन परेको छ ।
रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार बन्न इच्छुकहरूले आवेदन दिन आब्ह्वान गरेपछि स्थानीय तहको प्रमुख पदमा आकांक्षा राख्नेहरू सक्रिय देखिए पनि यो समाचार तयार पार्दासम्म कमलामाई नगरपालिकाको मेयर पदका लागि २ जना जिल्ला नेताले आवेदन दिएको थाहा लागेको छ ।
प्राप्त विवरणअनुसार कमलामाई नगरपालिकाको प्रमुख पदका लागि सिन्धुली जिल्ला सभापति अबिनास बस्नेत र जिल्ला सचिव एलपि देवकोटाले मात्रै ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिएका छन् । अन्य व्यक्तिले अहिलेसम्म आवेदन दिएका छैनन् । गत साता मात्रै सिन्धुलीमा आयोजित पार्टीको क्यान्डिडेट क्लबसम्बन्धी प्रशिक्षण कार्यक्रममा ६ जनाले हात उठाएर उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए तर आवेदन भने दिएका छैनन् ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षणका सहजकर्ता शंकर श्रेष्ठले कमलामाई नगरपालिकाको मेयर पदका लागि इच्छुक व्यक्तिहरूलाई हात उठाउन आग्रह गरेलगत्तै जिल्ला सचिव एलपी देवकोटा र सभापति बस्नेतले आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसपछि पार्टी निर्माणमा सक्रिय रहेका देवेन्द्र अधिकारीले पनि हात उठाए । अधिकारी पार्टीको केन्द्रीय प्रशिक्षण विभागमा आबद्ध छन् । त्यसैगरी कर्णबहादुर कार्की, जेबी माझी र रोशन लामाले समेत हात उठाएका थिए ।
एउटै पदमा पार्टीका जिल्ला नेतृत्वदेखि संगठन निर्माणमा सक्रिय सदस्यसम्मले आकांक्षा देखाएपछि कमलामाई नगरपालिकाको प्रमुख पदका लागि हुने प्रतिस्पर्धा चासोको विषय बनेको छ । यद्यपि, प्रशिक्षण कार्यक्रममा हात उठाएर इच्छा व्यक्त गर्नु र पार्टीको औपचारिक उम्मेदवार छनोट प्रक्रियाबाट उम्मेदवारी निश्चित हुनु फरक हुने रास्वपाका एक नेताले बताए ।
उक्त कार्यक्रममा कमलामाई नगरपालिकाको मेयर भन्दै पार्टी प्रवेश गरेका रोशन लामा सिन्धुलीमा भएको विध्वंसका क्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई कार्यालय छाडेर जान धम्की दिएको र नेतृत्व गरेको आरोपका कारण चर्चामा आएका व्यक्ति हुन् । रास्वपाले स्थानीय तहका सात पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
सिन्धुलीमा तीन दर्जनभन्दा बढी आकांक्षी देखिए पनि उनीहरू कुन–कुन स्थानीय तह र पदका लागि इच्छुक छन् भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । त्यसैले जिल्लाभरको पदगत प्रतिस्पर्धाको वास्तविक अवस्था स्पष्ट हुन बाँकी छ ।
सिन्धुलीमा देखिएको प्रारम्भिक आकांक्षाले रास्वपाभित्र स्थानीय तहको नेतृत्व लिन इच्छुकहरूको संख्या उल्लेख्य रहेको संकेत गरेको छ । तर, आकांक्षीहरूको संख्या र औपचारिक छनोट प्रक्रियाबाट उम्मेदवार बन्नेहरूको संख्या फरक हुन सक्ने भएकाले अन्तिम उम्मेदवार सूची सार्वजनिक भएपछि मात्रै वास्तविक प्रतिस्पर्धाको चित्र स्पष्ट जिल्ला नेताहरुले बताएका छन् ।
रास्वपाले स्थानीय तहको निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्ने तयारीसँगै उम्मेदवार छनोटका लागि छुट्टै विधि बनाएको छ । पार्टीले प्रारम्भिक निर्वाचन, पोलिटिकल प्रोक्सिमिटी, लिडरसिप एकेडेमी र समावेशितालाई आधार मानेर उम्मेदवार छनोट गर्ने जनाएको छ ।
निर्धारित मापदण्डअनुसार प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत, लिडरसिप एकेडेमीलाई २५ प्रतिशत र समावेशितालाई १० प्रतिशत भाराङ्क दिइएको छ ।
प्रारम्भिक निर्वाचनमा सम्बन्धित पालिकाका पार्टी सदस्यले आकांक्षीमध्ये कसैलाई पनि मत नदिने विकल्पसमेत पाउने व्यवस्था गरिएको छ । उक्त विकल्पले सबैभन्दा बढी मत पाएमा अन्य उम्मेदवारको उम्मेदवारी खारेज गरी नयाँ उम्मेदवार छनोट गरेर पुनः मतदान गरिने पार्टीले जनाएको छ ।
पार्टीले उम्मेदवार छनोटमा नातासम्बन्ध, पहुँच, गुटगत प्रभाव र आर्थिक शक्तिको प्रभावलाई रोक्ने दाबी गरेपनि विगतको टिकट बितरणका क्रममा बाहिर आएको समाचारहरुले अहिले पनि त्यही विषयले निरन्तरता नपाउला भन्न सकिने अबस्था छैन, रास्वपाका एक नेताले आशंका व्यक्तगर्दै भने ।







प्रतिक्रिया