काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण सातै प्रदेशमा वर्षा हुन सक्ने देखिएको हो।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
भोलि अपराह्नदेखि चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जाने देखिएको छ। वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।







प्रतिक्रिया