काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा आयोजित बैठकमा उनले आगामी चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न विशेष ध्यान दिन आग्रह गरेका हुन्।
बैठकमा कार्कीले संगठन प्रमुख र प्रहरी संगठनका विषयमा सञ्चारमाध्यममा भइरहेका चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गरेको सहभागी एक अधिकृतले बताएका छन्। संगठनभित्रका विषयलाई बाहिर लैजाने, नेतृत्वविरुद्ध समाचार लेखाउने र बेनामी उजुरी दिने प्रवृत्तिले संगठनको कामकारबाहीमा असर पार्न सक्ने उनको भनाइ थियो।
बैठकमा सहभागी स्रोतका अनुसार, कार्कीले केही अधिकृतको गतिविधिप्रति संकेत गर्दै व्यावसायिक मर्यादा र संगठनात्मक अनुशासन कायम राख्नुपर्नेमा जोड दिएका थिए। उनले संगठनलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन पनि आग्रह गरेको बताइएको छ।
दशैँको सुरक्षा व्यवस्थापन सवारी दुर्घटनाबाहेक अन्य विषयमा सन्तोषजनक रहेको उल्लेख गर्दै उनले आगामी दीपावली, म्हः पूजा, नेपाल संवत्, छठ र ल्होसार पर्वलाई लक्षित गरी सुरक्षा तयारी थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउन दबाब दिएको चर्चा भइरहेका बेला संगठनभित्रको अनुशासन र नेतृत्वविरुद्ध भइरहेका गतिविधिबारे उनले व्यक्त गरेको असन्तुष्टिलाई चासोका साथ हेरिएको छ। यद्यपि, बैठकमा उल्लेख गरिएका आरोप र सम्बन्धित अधिकृतहरूको भूमिकाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।







प्रतिक्रिया