विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र मार्फत अघि सारेको वर्गीय मुक्ति, श्रमको सम्मान र सामाजिक न्यायको विचार आज पनि उत्तिकै सान्दर्भिक छ। लेनिनले रुसी क्रान्तिमार्फत र माओ त्सेतुङले चिनियाँ क्रान्तिमार्फत मार्क्सवादलाई आ-आफ्नो देशको वस्तुगत परिस्थितिअनुसार प्रयोग गरे। यसले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ- विचारको शक्ति त्यसको व्यावहारिक प्रयोग, समयअनुकूल विकास र जनतासँगको सम्बन्धमा निहित हुन्छ।
सन् १९९० को दशकमा सोभियत सङ्घको विघटनसँगै विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का बेहोर्यो। तर नेपालमा भने जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) ले बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास र जनताको बहुमतबाट राजनीतिक श्रेष्ठता स्थापित गर्ने नयाँ बाटो प्रस्तुत गर्यो। नेकपा (एमाले) ले यही वैचारिक आधारमा नेपाली राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्यो। यो इतिहास गौरवको विषय मात्र होइन, बदलिँदो परिस्थितिमा विचारलाई सिर्जनात्मक ढङ्गले विकास गर्नुपर्ने सन्देश पनि हो।
तर इतिहासको उपलब्धिमा रमाएर वर्तमानका चुनौतीबाट विमुख हुने छुट कुनै राजनीतिक शक्तिलाई छैन। आजको प्रश्न एमालेसँग इतिहास छ कि छैन भन्ने होइन; इतिहासबाट सिकेर भविष्यको नेतृत्व गर्ने नवीन विचार, सक्षम संगठन र आधुनिक कार्यशैली उसले विकास गर्न सक्छ कि सक्दैन भन्ने हो।
मार्क्सवादले समाजलाई स्थिर होइन, परिवर्तनशील प्रक्रियाका रूपमा हेर्छ। त्यसैले कम्युनिस्ट आन्दोलनले पनि आर्थिक संरचना, उत्पादन सम्बन्ध, वर्गीय बनोट र सामाजिक चेतनामा आइरहेका परिवर्तनलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ। आज पुँजी केवल उद्योग, जमिन र वित्तीय संस्थामा सीमित छैन। डिजिटल प्लेटफर्म, व्यक्तिगत तथ्याङ्क, कृत्रिम बुद्धिमत्ता र सूचना प्रवाहमाथिको नियन्त्रणसमेत आर्थिक तथा राजनीतिक शक्तिका महत्त्वपूर्ण आधार बनेका छन्। प्रविधिको स्वामित्व कसको हातमा छ, त्यसबाट सिर्जना भएको लाभ कसले प्राप्त गर्छ र त्यसको मूल्य कसले चुकाउँछ भन्ने प्रश्न अब वर्गीय विश्लेषणको अभिन्न हिस्सा बन्नुपर्छ।
यस सन्दर्भमा एमालेले डिजिटल प्रविधिलाई प्रचारको साधनमा मात्र सीमित राख्नु हुँदैन। पार्टीको सदस्यता व्यवस्थापन, संगठनात्मक अभिलेख, जनताका गुनासा, नीति निर्माण, कार्यकर्ता प्रशिक्षण र जनसम्पर्कलाई प्रविधिमैत्री बनाउनुपर्छ। कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क विश्लेषणको उपयोग गर्दै जनताका वास्तविक समस्या पहिचान गर्ने, गलत सूचना र भ्रमको समयमै प्रतिवाद गर्ने तथा नीतिगत निर्णयलाई प्रमाणमा आधारित बनाउने क्षमता विकास गर्नुपर्छ। तर प्रविधिको प्रयोग गर्दा व्यक्तिगत गोपनीयता, सूचनाको सुरक्षा र तथ्यको सत्यापनलाई उत्तिकै महत्त्व दिन आवश्यक छ।
प्रविधि आधुनिक हुँदैमा संगठन स्वतः बलियो हुँदैन। सामाजिक सञ्जालमा लाखौँ पहुँच हुनु र जनताको जीवनमा वास्तविक प्रभाव पार्नु एउटै कुरा होइन। डिजिटल लोकप्रियता संगठनात्मक शक्ति, वैचारिक स्पष्टता र जनविश्वासको विकल्प बन्न सक्दैन। प्रविधिले जनतासँगको सम्बन्धलाई सहज बनाउनुपर्छ, जनताबाट पार्टीलाई टाढा बनाउने माध्यम होइन। गाउँबस्ती, श्रमस्थल, किसानका खेत, मजदुरका कार्यस्थल र युवाका आकाङ्क्षासँग प्रत्यक्ष जोडिएको संगठन नै दिगो राजनीतिक शक्तिको आधार हो।
त्यसैले एमालेका लागि आज तीनवटा काम अपरिहार्य छ न्वि-चारमा सिर्जनात्मक स्पष्टता, संगठनमा अनुशासित एकता र प्रविधिमा समयसापेक्ष दक्षता। वैचारिक बहसलाई निषेध गरेर होइन, तथ्य र तर्कका आधारमा निष्कर्ष निकालेर एकता बलियो बनाउनुपर्छ। संगठनलाई पद र जिम्मेवारीको वितरणमा मात्र सीमित नगरी जनताको समस्या समाधान गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्छ। प्रविधिलाई देखावटी आधुनिकताको प्रतीक होइन, जनसेवा र सुशासनको व्यावहारिक औजार बनाउनुपर्छ।
कुनै पनि राजनीतिक दलको भविष्य उसको विगतको गौरवले मात्र निर्धारण गर्दैन। उसले वर्तमानका प्रश्नको कस्तो उत्तर दिन्छ र भविष्यका चुनौती सामना गर्न कति सक्षम छ भन्ने कुराले निर्धारण गर्छ। जबजको मूल मर्मलाई समयको आवश्यकताअनुसार सिर्जनात्मक रूपमा विकास गर्दै एमालेले डिजिटल युगका वर्गीय अन्तर्विरोध, रोजगारी, उत्पादन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका प्रश्नमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्छ।
विचारबिनाको प्रविधि दिशाहीन हुन्छ, संगठनबिनाको विचार निष्प्रभावी हुन्छ र जनतासँगको सम्बन्धबिनाको राजनीति आधारहीन हुन्छ। यी तीन पक्षलाई एकीकृत गर्न सके मात्र नेपाली कम्युनिस्ट आन्दोलनले नयाँ युगको नेतृत्व गर्न सक्छ। एमालेका लागि चुनौती केवल आफ्नो शक्ति जोगाउनु होइन, बदलिँदो समाजको आवश्यकता बुझेर आफूलाई रूपान्तरण गर्नु हो। यही रूपान्तरणले इतिहासको विरासतलाई भविष्यको सम्भावनामा बदल्नेछ।







प्रतिक्रिया