फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र रोजगारी सिर्जनामा जोड
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायीलाई आफ्ना समस्या र कठिनाइ सरकारसमक्ष स्पष्ट रूपमा राख्न आग्रह गरेका छन्। व्यवसायीका वास्तविक समस्या समाधान गर्न सरकारसँग संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले उद्यमशीलता र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका हुन्।
फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले व्यवसायीका समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माणमा सरकार तथा निजी क्षेत्रबीच समन्वय हुनुपर्ने बताए।

शनिबार काठमाडौंको कोटेश्वरस्थित होटल एवान भेन्युमा एसोसिएसनका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
मुख्यमन्त्री थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती र कठिनाइ सरकारसमक्ष राख्न आग्रह गरे। सरकार र व्यवसायीबीच नियमित संवाद तथा सहकार्य हुन सके उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा थप सहयोग पुग्ने उनको भनाइ थियो।
“जनताका समस्या र व्यवसायीका वास्तविक कठिनाइहरू लिएर सरकारलाई सम्झनुहोस्। समस्या समाधानका लागि सरकारसँग संवाद र सहकार्य गर्नुहोस्,” उनले भने।
उनले व्यवसायीका हकहित संरक्षण, आर्थिक गतिविधि विस्तार तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए।
मुख्यमन्त्री थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसाय आर्थिक गतिविधि विस्तार, सीप विकास, स्वरोजगार र रोजगारी सिर्जनाका महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। यस क्षेत्रको विकासले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने भन्दै उनले उत्पादनशील गतिविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा व्यवसायीहरूले सामना गरिरहेका समस्या, व्यावसायिक चुनौती र सम्भावनाबारे छलफल गर्दै फास्टफुड व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिइएको थियो।
फास्ट फुड एसोसिएसन नेपालले खाद्य स्वच्छता, सेवा गुणस्तर, व्यावसायिक सीप विकास तथा व्यवसायीबीच एकता कायम गर्दै आएको जनाएको छ। साधारणसभा तथा शुभकामना आदान–प्रदान कार्यक्रमले व्यवसायीबीच आपसी सद्भाव र सहकार्य थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा गोर्खा ब्रुअरी प्रालिका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर काजिमान सुब्बा, होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्य, हाउस अफ राजकर्णिकारका कार्यकारी निर्देशक मिनुराज कर्णिकार, जनता टाइम्सका अध्यक्ष गणेश बस्नेतलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो।
त्यसैगरी, एसोसिएसनका संस्थापक, निवर्तमान तथा पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला तथा स्थानीय समितिका अध्यक्ष र आबद्ध होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले व्यवसायीका समस्या र सम्भावनाबारे छलफल गर्नुका साथै नेपाली चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।







प्रतिक्रिया