काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको हो।
सुन बरामद भएको घटनाबारे प्रहरीले आफ्नो तर्फबाट थप अनुसन्धान जारी राखेको छ। घटनासँग जोडिएका अन्य व्यक्ति तथा सम्भावित सञ्जालको पहिचान गर्न विभिन्न पक्षलाई समेटेर अनुसन्धान टोली परिचालन गरिएको एसएसपी खड्काले बताए।
गत असोज २२ गते प्रहरीले बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरबाट उक्त परिमाणको सुन बरामद गरेको थियो। बरामद सुनको घटनाकै दिनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो।
घटनामा पक्राउ पर्नेमा चीनको जियाङ्सु र ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सिंगो घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको आरोप छ। बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ।
घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा सुनको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया