काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पुग्न लाग्दा राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले आन्दोलनले उठाएका मूल मुद्दा अझै सम्बोधन नभएको बताएका छन् ।
उनले आन्दोलनका क्रममा भएको बलिदान, घाइते तथा अङ्गभङ्ग भएका युवाको अवस्था र त्यसपछि बनेका सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल न्यूज बैंकसँग जेनजी दिवसका सन्दर्भमा विशेष कुराकानी गर्दै सिंहले आन्दोलनले खोजेको परिवर्तन केवल सरकार वा नेतृत्व परिवर्तन नभएको बताए । उनका अनुसार युवाहरू सुशासन, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीमाथि कारबाही, प्रभावकारी सार्वजनिक सेवा र राजनीतिक प्रणालीमै सुधारको मागसहित सडकमा आएका थिए ।
‘हामी जुन रफ्तार र उत्साहका साथ परिवर्तनको म्यान्डेट बोकेर सडकमा आएका थियौँ, त्यसअनुसारको परिवर्तन भएन,’ सिंहले भने, ‘हामीले उठाएका माग–मुद्दा कुनै पनि पूरा भएनन् । त्यसैले त्यो दिनलाई अहिले सम्झिँदा निकै दुःखद् लाग्छ ।’
उनले आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र हजारौँ घाइते तथा अङ्गभङ्ग भएको दाबी गर्दै त्यसपछिका सरकारहरूले पीडितको न्याय र आन्दोलनका मूल माग सम्बोधन गर्न नसकेको आरोप लगाए ।
सिंहका अनुसार आन्दोलनपछि राजनीतिक नेतृत्व र सरकार परिवर्तन भए पनि शासन सञ्चालनको शैलीमा अपेक्षित परिवर्तन आउन सकेन ।
‘पुराना भ्रष्ट र बिचौलियाको हातबाट सत्ताको साँचो खोसेर नयाँ बिचौलियालाई सत्तामा पु¥याउनेबाहेक अरू परिवर्तन भएन,’ उनले भने ।
उनले जनताले केवल नयाँ अनुहार नभई नयाँ राजनीतिक संस्कार र काम गर्ने शैली खोजेको बताए । सार्वजनिक सेवा छिटो र प्रभावकारी बनाउने, भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने तथा राज्यका निकायमा राजनीतिक पहुँचबिना काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
‘अन्तरिम सरकार पनि जेनजीको थिएन’
सिंहले आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई समेत जेनजीको सरकार मान्न नसकिने बताए । अहिलेको सरकार पनि जेनजीको भावनाअनुसार अघि नबढेको उनको दाबी छ ।
उनले संविधान संशोधन, आन्दोलनका मुद्दाको सम्बोधन, मृतकका परिवारलाई न्याय तथा घाइतेको उचित उपचार नभएसम्म निर्वाचन गराउन नहुने पक्षमा आफूहरू रहेको बताए ।
सिंहका अनुसार संविधान संशोधनमार्फत जेनजी आन्दोलनले उठाएका विषय सम्बोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बनाउनुपर्छ । आन्दोलनमा सहभागी युवालाई बेवास्ता गरेर निर्वाचन गराइएको उनको आरोप छ ।
उनले भने, ‘आन्दोलनपछि बनेको अन्तरिम सरकार पनि जेनजीको सरकार थिएन, अहिलेको सरकार पनि जेनजीको भावनाअनुसार अघि बढेको छैन । संविधान संशोधन हुनुपर्छ, आन्दोलनका मुद्दा सम्बोधन हुनुपर्छ, मृतकका परिवारले न्याय पाउनुपर्छ र घाइतेहरूको उचित उपचार हुनुपर्छ । यी विषय सम्बोधन नभएसम्म निर्वाचन हुनुहुँदैन । संविधान संशोधनमार्फत जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बनाउनुपर्छ । तर आन्दोलनमा सहभागी युवाहरूलाई बेवास्ता गरेर निर्वाचन गरियो, जुन स्वीकार्य छैन ।’
गृहमन्त्रीप्रति आक्रोश
सिंहले वर्तमान गृहमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिनिधि वा नेता मान्न नसकिने बताएका छन् । आन्दोलनका बेला आफूलाई स्वयंसेवकका रूपमा प्रस्तुत गरेका व्यक्तिलाई पछि जेनजीको नेतृत्वसँग जोडिएको भन्दै उनले आपत्ति जनाए ।
‘उहाँलाई कसले जेनजीको नेता मानेको हो ? हामीले मानेका छैनौँ,’ सिंहले भने, ‘उहाँ जेनजीका मुद्दा बोकेर सडकमा आउनुभएको होइन ।’
उनले आन्दोलनमा सहभागी युवामाथि पक्राउ, धरौटी तथा कानुनी कारबाही गरिएको विषय उठाउँदै जेनजीको नाममा विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि गर्न नहुने बताए ।
‘जेनजीले नियम–कानुन मान्नु हुँदैन, लोकतन्त्र मान्नु हुँदैन वा विधिको शासन मान्नु हुँदैन भनेर कहिल्यै भनेको छैन,’ उनले भने, ‘जेनजीको भावना विपरीत काम गर्ने व्यक्तिलाई जेनजीको नेता वा प्रतिनिधि मान्न सकिँदैन ।’
उनले आन्दोलनका क्रममा न्यायालय, सर्वोच्च अदालत तथा सिंहदरबारजस्ता संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस्ता गतिविधिलाई जेनजी आन्दोलनको भावनासँग जोड्न नहुने बताए ।
‘सिंहदरबारमा अझै जेनजीको पहुँच छैन’
आन्दोलनको एक वर्ष पुग्दा पनि वास्तविक रूपमा परिवर्तनका लागि सडकमा उत्रिएका युवाको राज्यसत्तामा पहुँच स्थापित हुन नसकेको सिंहको भनाइ छ ।
‘अहिले पनि परिवर्तनका लागि सडकमा आएका युवाहरूको सिंहदरबार वा बालुवाटारमा पहुँच छैन,’ उनले भने ।
उनले विदेश पलायन हुने युवाको लामो लाइन, बेरोजगारी, राजनीतिक पहुँचका आधारमा राज्यका निकायमा हुने काम तथा भ्रष्टाचारजस्ता समस्या यथावत् रहेको बताए । सामाजिक सञ्जालमा सरकारका कामको प्रचार धेरै भए पनि जनताले अनुभूति गर्ने गरी परिणाम नदेखिएको उनको आरोप छ । सरकारका उपलब्धि प्रचारभन्दा पीडितले न्याय पाउनु र नागरिकले सार्वजनिक सेवामा सुधारको अनुभूति गर्नु महत्वपूर्ण हुने उनले बताए ।
‘प्रत्येक घरमा जेनजी छ’
सिंहले जेनजी कुनै निश्चित संस्था, समूह वा व्यक्तिसँग मात्र सीमित नरहेको दाबी गरे । उनका अनुसार देशमा परिवर्तन, सुशासन र नागरिकको अधिकारका लागि आवाज उठाउने युवालाई जेनजीका रूपमा बुझिनुपर्छ ।
‘प्रत्येक घरमा जेनजी छ,’ उनले भने, ‘राष्ट्रका लागि र परिवर्तनका लागि लडेका युवाहरू नै जेनजी हुन् ।’
उनले विदेशी संस्था वा अन्य कुनै समूहसँग आबद्ध व्यक्तिलाई मात्र जेनजीको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न नहुने बताए ।
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’
आन्दोलनको एक वर्षपछि पनि मूल समस्या समाधान नभए जनअसन्तुष्टि फेरि सडकमा आउन सक्ने सिंहले चेतावनी दिएका छन् । उनका अनुसार आन्दोलनका क्रममा भएका दुःखद् घटनाबाट पाठ सिक्दै अबको संघर्षलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको छ ।
‘यही अहंङ्कारी शैलीमा नियम–कानुन नमानेर अगाडि बढ्ने हो भने फेरि जेनजी विद्रोह हुन सक्छ,’ उनले भने, ‘फेरि अर्को आन्दोलनको खाका र मोडालिटी तयार हुन सक्छ ।’
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका, घाइते भएका तथा परिवर्तनका लागि सडकमा उत्रिएका युवाप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सरकारका गतिविधिमाथि निरन्तर खबरदारी गर्ने बताए ।
‘हामी अहिले पनि परिवर्तनका लागि सडक संघर्षमै छौँ,’ सिंहले भने, ‘सरकारले चाल्ने हरेक कदममा निरन्तर खबरदारी गर्छौँ ।’
जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा सिंहको अभिव्यक्तिले आन्दोलनबाट उत्पन्न राजनीतिक परिवर्तन र त्यसले जनअपेक्षा पूरा गर्न सके–नसकेको विषयमा बहस पुनः सतहमा ल्याएको छ । आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तन गरे पनि सुशासन, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण र न्यायका प्रश्न अझै समाधान हुन बाँकी रहेको उनको निष्कर्ष छ ।







प्रतिक्रिया