२०८३, १४ भाद्र सोमबार

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी


काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै राजनीति, व्यवसाय, शिक्षा, सञ्चार, सामाजिक सेवा तथा विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन थालेका छन्। बदलिँदो सामाजिक परिवेशसँगै महिलाको भूमिका र पहिचानबारे पनि बहस फराकिलो बन्दै गएको छ।

यही परिवेशमा ‘मिसेस नेपाल वर्ल्ड’का सहभागी महिलाहरूले महिला सशक्तीकरणका लागि आत्मविश्वास, शिक्षा र आर्थिक आत्मनिर्भरतालाई मुख्य आधारका रूपमा अघि सारेका छन्। उनीहरूका अनुसार समाजले महिलालाई कसरी हेर्छ भन्नेभन्दा महिलाले आफूलाई कसरी बुझ्छिन् र आफ्नो क्षमताको मूल्याङ्कन कसरी गर्छिन् भन्ने कुरा अझ महत्त्वपूर्ण छ।

महिलाहरू अब ‘बिचरी’को परिचयमा सीमित नभई आफ्नै क्षमता, सीप र सामर्थ्यका आधारमा आत्मनिर्भर बन्नुपर्ने सहभागीहरूको साझा धारणा छ।

प्रतिस्पर्धी श्रद्धा श्रेष्ठले महिलाहरूले आफ्ना अधिकारका लागि अरूको मुख ताक्नुको सट्टा आफैँ अग्रसर हुनुपर्ने बताइन्। पुरुषप्रधान सामाजिक संरचनामा महिला र पुरुषबीच समान अवसर सुनिश्चित हुनुपर्ने तथा महिलाको क्षमता र सम्भावनाको उचित मूल्याङ्कन हुनुपर्ने उनको भनाइ छ।

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक आत्मनिर्भरता भएको उल्लेख गर्दै श्रेष्ठले आर्थिक रूपमा सबल बन्न सके महिलाका धेरै समस्या आफैँ समाधान गर्न सहज हुने बताइन्।

“आफूलाई असहाय ठान्नु हुँदैन। कम्फर्ट जोनबाट बाहिर निस्केर अवसर खोज्ने र सिर्जना गर्ने आँट महिलाले आफैँ गर्नुपर्छ,” उनले भनिन्। त्यसैगरी अर्की प्रतिस्पर्धी स्वइच्छा पौडेलले आत्मविश्वास र सकारात्मक सोचले पारिवारिक तथा सामाजिक जीवनमा सफलता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

अघिल्लो पुस्ताका धेरै आमाहरू चुलोचौकोमा सीमित रहे पनि उनीहरूले आफ्ना छोरीहरूलाई शिक्षा र अगाडि बढ्ने हिम्मत दिएको स्मरण गर्दै पौडेलले प्राप्त शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्।

छोरी र बुहारीको भूमिकामा जिम्मेवारी फरक हुन सक्ने भए पनि परिवारमा पारस्परिक सम्मान र सकारात्मक व्यवहार कायम गर्न सके साथ र सहयोग प्राप्त गर्न सहज हुने उनको भनाइ छ। अगाडि बढ्नका लागि परिवारको सहयोगको अपेक्षा मात्र नगरी त्यसका लागि स्वयंले पनि पहिलो पाइला चाल्नुपर्ने उनले बताइन्।

सहभागी रिचा शर्माले महिला अधिकार र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्तका रूपमा औँल्याइन्। चुलोचौकोको सीमाभन्दा बाहिर पनि महिलाका लागि अवसर र सम्भावनाले भरिएको ठूलो संसार रहेको चेतना जगाउन शिक्षा अपरिहार्य रहेको उनको भनाइ छ।

महिला सशक्तीकरणका लागि सञ्चारमाध्यम र सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै शर्माले समाज रूपान्तरण रातारात सम्भव नहुने बताइन्। तर परिवर्तनको सुरुवात कतै न कतैबाट तत्काल गर्नुपर्ने र महिलालाई आफ्ना अधिकारबारे सुसूचित गराउने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको दायित्व भएको उनले उल्लेख गरिन्।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारसम्मको जिम्मेवारी सम्हालिसकेकी अस्विन वगुम श्रीसले शिक्षा, क्षमता र आत्मविश्वासले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने सोचलाई परास्त गर्न सकिने बताइन्।

साउदी अरबजस्तो सामाजिक परिवेशमा रहेर पनि लामो समयदेखि अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव सुनाउँदै उनले परिवारको साथ र व्यक्तिगत क्षमता भए कुनै पनि सीमाले महिलालाई रोक्न नसक्ने धारणा राखिन्।

‘मिसेस नेपाल वर्ल्ड’का सहभागी महिलाहरूका यी अभिव्यक्तिले नेपाली महिलाको बदलिँदो भूमिकालाई पनि प्रतिबिम्बित गरेको छ। अधिकारका लागि आवाज उठाउने मात्र होइन, शिक्षा, आत्मविश्वास, सीप र आर्थिक सामर्थ्यका आधारमा आफ्नै पहिचान निर्माण गर्दै नेतृत्वदायी भूमिकामा पुग्न सकिने उनीहरूको सन्देश छ।

अब नेपाली महिलाको परिचय ‘बिचरी’ होइन, आफ्नो निर्णय आफैँ गर्न सक्ने, अवसर सिर्जना गर्न सक्ने र समाजको नेतृत्व गर्न सक्ने आत्मनिर्भर महिलाको रूपमा स्थापित गर्ने समय आएको उनीहरूको निष्कर्ष छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १० : १४ बजे

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको