सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने एक महिनाको सेवा–सुविधा बराबरको रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए।
गाउँपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अध्यक्ष मिङ्मा छिरी शेर्पाद्वारा जारी विज्ञप्तिमा विपद् कुनै एक भूगोल वा स्थानीय तहको मात्र समस्या नभई साझा मानवीय चुनौती भएको उल्लेख गरिएको छ।
गाउँपालिकाले विपद्को कठिन समयमा सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था, निजी क्षेत्र र आम नागरिकलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ।







प्रतिक्रिया