२०८३, १२ भाद्र शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए


रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी हुँदै गण्डक ब्यारेजसम्म आइपुग्ने क्रम बढेको छ। हालसम्म गण्डक ब्यारेजमा ५४ वटा सग्ला शव फेला परेका छन् भने २५ जनाका विभिन्न अंग मात्रै भेटिएका छन्।

फेला परेका शवमध्ये अहिलेसम्म एक जनाको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। पहिचान हुनेमा गोरखा पालुङटार नगरपालिका–७ स्याम्ली भञ्ज्याङका २८ वर्षीय समी कुमाल रहेका छन्। कुमालको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो। उनका दाजुले पहिचान गरेपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बाँकी शवको पहिचान हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। लामो समय पानीमा रहेका कारण अधिकांश शव कुहिएको र अनुहारसमेत नचिनिने अवस्थामा पुगेका छन्। शवको संख्या बढ्दै गएपछि रुपन्देही, नवलपरासी र कपिलवस्तुका अस्पतालमा व्यवस्थापनको समस्या देखिएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै १९ वटा शव राखिएका छन् भने भीम अस्पतालमा थप दुई शव छन्। मर्चरीमा ठाउँ नपुगेपछि अस्पतालले फलामका बाकसमा बरफ राखेर शव सुरक्षित राख्न थालेको जनाएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमका अनुसार शवको संख्या बढ्दै गएपछि उपलब्ध स्रोतसाधनको प्रयोग गरी व्यवस्थापन भइरहेको छ। पहिचान र पोस्टमार्टमको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उनले बताए। गर्मीका कारण शव छिटो बिग्रिने जोखिम रहेकाले तत्कालका लागि बरफ प्रयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सक भए पनि उनी बिदामा रहेकाले बाहिरबाट चिकित्सक बोलाएर पोस्टमार्टम गर्नुपर्ने अवस्था आएको छ।

पहिचान भएका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई सुरक्षित राख्ने काम भइरहेको अस्पतालले जनाएको छ। कपिलवस्तुमा पठाइएका ६ वटा शवलाई अस्पतालमै अस्थायी कोल्डस्टोर बनाएर राखिएको छ। प्रहरीका अनुसार तीमध्ये अहिलेसम्म कुनै शवको सनाखत हुन सकेको छैन।

शवगृहको अभाव भएपछि अस्पतालमै बरफसहितको कोल्डस्टोर बनाएर शव सुरक्षित राखिएको हो। नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार धेरै शव सडिसकेको र अनुहारसमेत नचिनिने अवस्थामा पुगेका छन्। अस्पतालमा थप शव राख्ने क्षमता सीमित रहेकाले तत्काल वैकल्पिक व्यवस्थापन आवश्यक भएको उनले बताए। लामो समयसम्म शव राखिरहँदा दुर्गन्धसँगै स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सम्भावित स्थानको खोजी भइरहेको प्रशासनले जनाएको छ। आवश्यक स्वीकृति लिएर शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

बाढी प्रभावित क्षेत्रबाट थप शव फेला पर्ने क्रम जारी रहेकाले आगामी दिनमा शव व्यवस्थापनको चुनौती अझ बढ्न सक्ने देखिएको छ। अहिले प्रशासन र अस्पतालका लागि शवको पहिचान, डीएनए परीक्षण, पोस्टमार्टम, सुरक्षित भण्डारण र अन्तिम व्यवस्थापन प्रमुख चुनौती बनेका छन्।

प्रकाशित मिति : २०८३, १२ भाद्र शनिबार  ७ : ०० बजे

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो