काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीमा आफन्त गुमाएका, घाइते भएका तथा घरबारविहीन बनेका नागरिकको पीडामा साथ दिन उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले बताए।
कँडेलले विपत्तिको समयमा ठूलो सहयोग गर्न नसके पनि पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। ‘हामीले ठूलो सहयोग गर्न नसके पनि आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन बनेका नेपालीको दुःखमा सानो भए पनि राहत होस् भन्ने उद्देश्यले यो रकम सहयोग गरेका हौँ,’ उनले भने।
उनका अनुसार गोरेटोले उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्र सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धताको रूपमा लिएको छ। गोरेटो कन्सल्टेन्सीका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले प्रभावित नागरिकको पीडामा साथ दिन गोरेटो परिवार राहत अभियानमा जोडिएको बताए।
गोरेटोले स्थापनाकालदेखि नै आपत्–विपत् तथा सामाजिक कार्यमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ। प्राकृतिक विपत्तिका बेला सबैको सहयोग र एकताले पीडित परिवारमा आशा जगाउन सक्ने भन्दै संस्थाले सहयोगका लागि सबैमा आह्वानसमेत गरेको छ।
बुधबार तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोबाट धेरै परिवार प्रभावित भएका छन् भने कतिपयले आफन्त गुमाएका छन्।







प्रतिक्रिया