२०८३, १० भाद्र बिहीबार

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक


काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि बढिरहेका बेला विद्युतीय तथा हाइब्रिड सवारी निर्माता बीवाइडीले नेपाली बजारमा पनि अत्याधुनिक प्रविधिमा आधारित नयाँ सवारी भित्र्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा कम्पनीले तीन नयाँ तथा अपग्रेडेड सवारीसाधन सार्वजनिक गर्दै नेपाली अटोमोबाइल बजारमा प्रविधिमैत्री गतिशीलताको नयाँ विकल्प प्रस्तुत गरेको हो।

कम्पनीले अपग्रेडेड बीवाइडी सीलायन ७, एट्टो २ को सुपेरियर भेरियन्ट तथा शार्क ६ प्लग–इन हाइब्रिड सार्वजनिक गरेको छ। विद्युतीय मोटरको शक्ति बढाउनेदेखि हाइब्रिड प्रविधिमार्फत इन्धन र विद्युत्को संयोजनसम्मका नयाँ प्रविधि यी सवारीको प्रमुख विशेषता रहेका छन्।

बीवाइडीका प्रतिनिधि अंकित दाहालका अनुसार कम्पनीले सीलायन ७ लाई थप शक्तिशाली प्रविधिसहित पुनः नेपाली बजारमा ल्याएको हो। यसअघि १०० किलोवाट क्षमताको मोटर रहेकोमा नयाँ संस्करणमा १७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।

यससँगै सवारीको पावर र प्रदर्शनमा उल्लेख्य सुधार हुने कम्पनीको अपेक्षा छ। नयाँ संस्करणमा मोटर पावरसँगै विभिन्न आधुनिक फिचर पनि थपिएका छन्। नाडा अटो शोका लागि यसको प्रारम्भिक मूल्य ९२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले यो मूल्य सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ।

प्रविधिको विकाससँगै विद्युतीय सवारीमा आराम, सुरक्षा र स्मार्ट फिचरप्रति ग्राहकको आकर्षण बढिरहेका बेला बीवाइडीले एट्टो २ को सुपेरियर भेरियन्ट पनि सार्वजनिक गरेको छ।

केही समयअघि आयोजित नाइमा मोबिलिटी एक्स्पोमा एट्टो २ को इसेन्सियल भेरियन्ट सार्वजनिक गरिएको थियो। नयाँ सुपेरियर भेरियन्टमा प्यानोरामिक ग्लास टप तथा सनरुफजस्ता प्रिमियम फिचर थप गरिएको कम्पनीले जनाएको छ। यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार एट्टो २ मा उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक च्यासिस संरचनालाई प्राथमिकता दिइएको छ। बीवाइडीको सेल–टु–बडी प्रविधिको प्रयोगले ब्याट्री र सवारीको संरचनाबीचको एकीकृत डिजाइनलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।

यता, नाडा अटो शोमा सार्वजनिक गरिएको शार्क ६ ले भने नेपाली बजारमा विद्युतीय र इन्धन प्रविधिको संयोजनलाई नयाँ रूपमा प्रस्तुत गरेको छ। पूर्ण रूपमा विद्युतीय सवारीबाट मात्र सम्भव नभएका लामो दूरी तथा दुर्गम क्षेत्रका यात्रालाई ध्यानमा राख्दै कम्पनीले प्लग–इन हाइब्रिड प्रविधिमा आधारित यो मोडल ल्याएको हो।

शार्क ६ मा ठूलो क्षमताको ब्याट्री, विद्युतीय मोटर र बीवाइडीको १.५ लिटर टर्बो इन्जिनको संयोजन रहेको छ। यसमा डुअल मोड अफरोडिङ अर्थात् डीएमओ प्लेटफर्म तथा ल्याडर फ्रेम च्यासिस प्रयोग गरिएको छ।

कम्पनीका अनुसार आधुनिक हाइब्रिड प्रविधिले आवश्यकताअनुसार इन्जिन, ब्याट्री र विद्युतीय मोटरको प्रयोग व्यवस्थापन गर्छ। यसले सवारीलाई शहरभित्र विद्युतीय मोडमा र लामो दूरी तथा कठिन सडकमा हाइब्रिड वा इन्धन मोडमा सञ्चालन गर्न सकिने सुविधा प्रदान गर्छ।

विशेषगरी अफरोड क्षमता लक्षित शार्क ६ मा ६५० एनएमसम्मको अधिकतम टर्क रहेको बताइएको छ। उच्च टर्कका कारण उकालो तथा कठिन भूगोलमा सवारीको तान्ने क्षमता प्रभावकारी हुने कम्पनीको दाबी छ।

प्लग–इन हाइब्रिड प्रविधिको अर्को विशेषता चार्जिङ र इन्धन दुवै विकल्प उपलब्ध हुनु हो। कम्पनीका अनुसार शार्क ६ लाई पूर्ण रूपमा चार्ज गरेर चलाउँदा १०० किलोमिटरभन्दा बढी विद्युतीय रेन्ज प्राप्त गर्न सकिन्छ। चार्जिङ पूर्वाधार सीमित भएका दुर्गम क्षेत्रमा भने इन्धनको प्रयोग गरेर यात्रा निरन्तर गर्न सकिन्छ।

यसरी विद्युतीय मोटरको दक्षता, ब्याट्री प्रविधि, स्मार्ट ड्राइभिङ प्रणाली र इन्धन इन्जिनको संयोजनले नयाँ पुस्ताका सवारीसाधनलाई थप बहुउपयोगी बनाउँदै लगेको छ।

नाडा अटो शोमा बीवाइडीले सार्वजनिक गरेका तीन सवारीले पनि नेपाली अटोमोबाइल बजार अब केवल पेट्रोलियम इन्धनबाट चल्ने सवारीको बजारमा सीमित नरहेको संकेत दिएका छन्। बढ्दो विद्युतीय सवारीको प्रयोगसँगै नयाँ प्रविधि, उच्च क्षमताका मोटर, उन्नत ब्याट्री प्रणाली र हाइब्रिड ड्राइभिङ नेपाली बजारमा प्रतिस्पर्धाका प्रमुख आधार बन्दै गएका छन्।

कम्पनीका प्रतिनिधि दाहालका अनुसार तीनवटै नयाँ तथा अपग्रेडेड उत्पादनप्रति नाडा अटो शोका अवलोकनकर्ता र ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १० : १३ बजे

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय