विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा छलफल गर्न विराटनगरमा आजदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु हुँदैछ।
कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा सुदूरपश्चिमबाहेक अन्य छ प्रदेशका मुख्यमन्त्री सहभागी हुँदैछन्। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू पनि सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सम्मेलनमा सहभागी नहुने जनाइएको छ।
सम्मेलनको पहिलो दिन उद्घाटनपछि सातै प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास र सिकाइबारे प्रस्तुतीकरण हुनेछ। त्यसपछि सङ्घीयता र संस्थागत विकास, अन्तरप्रदेशीय समन्वय, आर्थिक साझेदारी, पूर्वाधार तथा कनेक्टिभिटी, प्राकृतिक स्रोतको उपयोग र विपद् व्यवस्थापनलगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
सङ्घीयताविद् डा. खिमीलाल देवकोटाले सङ्घीयता र संस्थागत विकास तथा अन्तरप्रदेशीय सहकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश कुमार घिमिरेले आर्थिक साझेदारी र विपद् व्यवस्थापनमार्फत साझा समृद्धि हासिल गर्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। दुवै सत्रमा सम्बन्धित क्षेत्रका विज्ञहरूले टिप्पणी गर्ने कार्यक्रम छ।
सम्मेलनअन्तर्गत घोषणापत्रका विषय पहिचान गर्न छुट्टै छलफल हुनेछ। साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन वृद्धि, व्यापार विस्तार र निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिनेछ।
सम्मेलनको दोस्रो दिन पहिलो दिनका छलफल र निष्कर्षलाई समेटेर ‘कोशी घोषणा–२०८३’ तयार पारिनेछ। सातै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धतासहित तयार हुने घोषणापत्रमा मुख्यमन्त्रीहरूले हस्ताक्षर गरी सार्वजनिक गर्ने कार्यतालिका छ।
घोषणापत्र र भावी कार्यदिशाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइनेछ। त्यसपछि सहभागी टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
सम्मेलनले प्रदेशहरूबीच सहकार्य बढाउने, विकासका सफल अभ्यास आदानप्रदान गर्ने तथा साझा समस्या समाधानका लागि संस्थागत समन्वयको आधार तयार गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया