काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। साथै, बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त क्षेत्रमा पुनःस्थापना अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
रास्वपाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन तथा दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक बोलाइएको हो।
बैठकमार्फत बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि साझा पहल र आवश्यक रणनीति तय गर्ने तयारी गरिएको छ।







प्रतिक्रिया