काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन ‘रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारलाई उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो।
कांग्रेसले बेपत्ताको खोजी, जोखिममा रहेका नेपाली तथा विदेशी नागरिकको उद्धार र स्थानान्तरण तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरेको छ। साथै सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदायबीच सहकार्य गर्दै विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।
बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत बाढी प्रभावित जिल्लाका पार्टी नेतृत्व तथा सदस्यलाई स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ।
बाढीको संकटलाई ध्यानमा राख्दै कांग्रेसले भदौ ११ गतेका लागि तय भएका महिला उद्यमशीलता सम्मेलन, ग्रिन टेबललगायत कार्यक्रम तथा केन्द्रीय कार्यालयमा हुने विचार शृङ्खलाका छलफल एक साताका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समितिमा प्रभावित जिल्लाका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधि सदस्य रहनेछन्।
पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्यसचिव रहनेछन्। समितिअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरिने भएको छ।
कांग्रेसले पार्टीका तर्फबाट हुने सम्पूर्ण राहत तथा सहयोग समितिको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ। साथै राहत कोषमा पार्टीका तर्फबाट एकमुष्ट रकम जम्मा गर्ने निर्णयसमेत गरिएको छ।





प्रतिक्रिया