काठमाडौँ । नेपाली प्रविधि उद्योगले अन्तर्राष्ट्रिय बजारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। नेपालमा विकास गरिएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ अब श्रीलङ्काको ठूलो दूरसञ्चार कम्पनी डायलग आजियाटाको व्यवसायिक प्रणालीसँग जोडिएको छ।
टिङटिङले डायलगसँग रणनीतिक व्यावसायिक सम्झौता गर्दै नेपाली प्रविधिलाई श्रीलङ्काली बजारमा प्रवेश गराएको हो। सम्झौतामा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै ‘Built in Nepal, For the World’ भन्ने अवधारणाले व्यवहारिक रूप लिन थालेको कम्पनीको भनाइ छ। नेपाली युवाले विकास गरेको प्रविधि अब नेपालभित्रको बजारमा मात्र सीमित नभई दक्षिण एसियाली बजारमा समेत प्रतिस्पर्धा गर्न थालेको हो। टिङटिङको Communication Suite अन्तर्गत ‘कनेक्ट’, ‘ओम्नी’, ‘ब्रोडकास्ट’ र ‘एजेन्ट्स’जस्ता प्रविधि प्रयोगमा ल्याइएका छन्। यसले व्यवसायलाई ग्राहकसँग हुने फोन, एसएमएस, ह्वाट्सएप, भाइबर, मेसेन्जर तथा वेबच्याटलगायत विभिन्न माध्यमका संवादलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सहज बनाउँछ।
विशेषगरी एआई एजेन्ट प्रविधि यसको आकर्षण बनेको छ। ग्राहकसँग स्थानीय भाषामै स्वचालित संवाद गर्न सक्ने, प्रश्न बुझेर जवाफ दिने र आवश्यक पर्दा मानव कर्मचारीसँग जोडिदिने क्षमताले परम्परागत ग्राहक सेवा प्रणालीलाई थप स्मार्ट बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, हजारौँ ग्राहकलाई एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना, रिमाइन्डर तथा आवश्यक सन्देश पठाउन सकिने प्रविधिले बैंकिङ, दूरसञ्चार, स्वास्थ्य, शिक्षा तथा अन्य व्यवसायिक क्षेत्रमा यसको प्रयोगको सम्भावना बढाएको छ।
टिङटिङका सेवा अहिले नेपाली, अंग्रेजी र सिंहली भाषामा उपलब्ध छन्। श्रीलङ्काली बजारलाई लक्षित गर्दै तमिल र सिंहली भाषाका उन्नत भ्वाइस मोडलमा समेत काम भइरहेको कम्पनीले जनाएको छ। श्रीलङ्काको ठूलो टेलिकम कम्पनीसँग नेपाली एआई प्रविधिको सहकार्यलाई नेपालबाट सफ्टवेयर र डिजिटल सेवा निर्यातको सम्भावनालाई विश्वसामु चिनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नेपाली प्रविधिको यो यात्रा आगामी दिनमा दक्षिण एसियाबाट विश्व बजारतर्फ अझ तीव्र हुने संकेतसमेत देखिएको छ।







प्रतिक्रिया