काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बालेन शाह नेतृत्वको सरकारको सय दिने कार्यकाललाई अधिनायकवादी प्रवृत्ति, राजनीतिक प्रतिशोध, संवैधानिक विचलन र आर्थिक अराजकताको सुरुआत भएको आरोप लगाएको छ। सरकारले ‘१०० दिनमा १०० काम’ गर्ने प्रतिबद्धता गरे पनि व्यवहारमा जनअपेक्षा पूरा गर्नुको साटो सस्तो लोकप्रियता, प्रचारमुखी निर्णय र प्रतिशोधको राजनीतिमा अल्मलिएको एमालेको निष्कर्ष छ।
शुक्रबार महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा सरकारले संविधान संशोधनदेखि सुशासन, संघीयता, शान्ति–सुरक्षा, सेवा प्रवाह, अर्थतन्त्र र परराष्ट्र नीतिसम्मका सबैजसो क्षेत्रमा गम्भीर असफलता प्रदर्शन गरेको दाबी गरिएको छ। एमालेले सरकारले संविधान संशोधनजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरूसँग न्यूनतम परामर्श नगरी अपारदर्शी ढंगले प्रक्रिया अघि बढाएको आरोप लगाउँदै यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनमाथिको प्रहार भनेको छ। संघीयताको पक्षमा प्रतिबद्धता जनाएर सत्तामा पुगेको सरकारले अहिले अधिकार केन्द्रमा थुपार्ने अभ्यास थालेको आरोप पनि वक्तव्यमा छ।
सुशासनको नाममा प्रतिपक्षमाथि राजनीतिक प्रतिशोध साँधिएको, कानुनी संयन्त्रको दुरुपयोग गरिएको तथा सामाजिक सञ्जालमार्फत ‘माहोल’ सिर्जना गरेर विपक्षीलाई कमजोर पार्ने प्रयास गरिएको एमालेको आरोप छ। आफ्ना निकटका व्यक्तिलाई संरक्षण गर्ने र विपक्षीमाथि मात्रै कानुन प्रयोग गर्ने प्रवृत्तिले सरकारको दोहोरो चरित्र उजागर भएको दाबी गरिएको छ।
प्रशासनिक सुधार, डिजिटल सेवा र नागरिक सेवा प्रवाहका नाममा गरिएका अधिकांश घोषणा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै एमालेले सरकार ‘गफमा अगाडि, काममा शून्य’ सावित भएको टिप्पणी गरेको छ। नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, प्रशासनिक सुधार र डिजिटल गभर्नेन्सका अधिकांश प्रतिबद्धता कागजमै सीमित रहेको आरोप लगाइएको छ।
आर्थिक क्षेत्रमा सरकारले निजी क्षेत्रको विश्वास गुमाएको, लगानीको वातावरण बिगारेको, निर्माण व्यवसायी, किसान, सहकारी पीडित र सुकुम्बासीका समस्या समाधानमा पूर्ण असफल भएको एमालेको दाबी छ। विद्युत्, कर नीति, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारका निर्णयले थप अन्योल र निराशा सिर्जना गरेको पनि वक्तव्यमा उल्लेख छ। परराष्ट्र नीतिमा पनि सरकार चुकेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्रीका अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र कूटनीतिक विश्वसनीयतामाथि नै प्रश्न उठाएको जनाएको छ।
एमालेले प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालय नै आर्थिक स्वार्थ र विवादमा मुछिँदै गएको दाबी गर्दै सरकारले सय दिनमा जनतालाई उपलब्धि होइन, विवाद, प्रचार र असफलतामात्रै दिएको आरोप लगाएको छ। ‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने उखान उद्धृत गर्दै एमालेले सरकारको सय दिने कार्यकालले नै आगामी कार्यदिशा स्पष्ट गरिसकेको उल्लेख गरेको छ। मुलुकको आर्थिक संकट समाधान, विधिको शासन स्थापना र जनअपेक्षा पूरा गर्ने सवालमा वर्तमान सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै एमालेले सरकारप्रति जनविश्वास तीव्र रूपमा घट्दै गएको दाबी गरेको छ।







प्रतिक्रिया