२०८२, १ पुस मंगलबार

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा खतिवडा


काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।”

देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो । कृषि, ऊर्जालगायत उत्पादन क्षेत्रमा अहिले कर्जाको माग बढिरहेको बैंकले शेयर बजारमा चाहे जति लगानी गर्न सक्ने अवस्था कमजोर रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले तरलताको अभावले पनि शेयर बजारलाई केही हदसम्म तलमाथि पारेको हुनसक्छ भन्नुभयो ।

पूर्वअर्थमन्त्री डा बाबुराम भट्टराईले सरकारले बचतलाई वृद्धि गर्ने र शेयर बजारका लगानीकर्ताले पनि धैर्य गर्नुपर्ने अवस्था देखिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्र अहिलेसम्म पनि उत्पादनमुखी हुन सकेको छैन, राज्य बढी जिम्मेवार हुनुपर्छ, पूँजी बजारमा देखिएका समस्या सहकार्य, वार्ता र संवादका आधारमा सम्बोधन गर्नुपर्छ ।”

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको जगबाट पूँजी बजार डग्मगाउने स्थिति पुग्न लागेको हो भने विशेष व्यवस्था गरेर प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वअर्थमन्त्री एवं समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शेयर बजार स्वस्थ्य र लगानीकर्तालाई सुरक्षित एवं उत्साही बनाउन आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी बजारमा धेरैलाई समेट्न नसक्दा तथा कारोवार गर्ने व्यक्ति आफँै सङ्कुचित हुँदा छोटो समयमै शेयरको मूल्यमा उचारचढाव आउने परिस्थिति बनेको धारणा राख्नुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले लगानीकर्ताको दोस्रो बजारमा केही तलमाथि परेको भए पनि पहिलो लगानीमा खासै असर नगरेको जानकारी दिनुभयो ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिकबाट पूर्णरुपमा अनलाइनमार्फत पूँजीबजार सञ्चालनमा आएपछि विगतमा उठ्ने गरेका धेरै प्रश्नको सम्बोधन भएको बताउनुभयो । नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ५० दलाल कम्पनीले मुलुकका ४१ शाखामार्फत १७ शहरमा शेयर किनबेचका क्षेत्रमा सेवा पु¥याइरहेको जानकारी दिनुभयो ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले शेयर कर्जालगानी सबैभन्दा सुरक्षित भए पनि सरकारको गलत नीतिका कारण पूँजी बजारको सूचकाङ्क दुई वर्षदेखि ओरालो लागेर निकै तल झर्न पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । बैठकमा समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले पूँजी बजारमा देखिएका समस्या र चाल्नुपर्ने कदमबारे जानकारी लिन आयोजना गरिएको छलफललाई समितिले निरन्तरता दिँदै आवश्यक निर्देशन दिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ५ : ४६ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई