काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर उठाउन सुरु गरिने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गर्दै असुली प्रक्रिया अघि बढाएको हो।
आयोजनाले सार्वजनिक सूचना जारी गर्दै कार, भ्यान, पिकअप, ट्याक्टर तथा माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने जनाएको छ। त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। बस तथा ट्रकका लागि प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणले भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ।
नयाँ व्यवस्था लागू भएसँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले निर्धारित वर्गअनुसार शुल्क तिर्नुपर्नेछ।







प्रतिक्रिया