२०८३, ७ मंसिर सोमबार

प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौं र धुलिखेलमा हुँदै

प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौं र धुलिखेलमा हुँदै


काठमाडौं । विदेशमा जन्मिएका, हुर्किएका र अध्ययन गरेका नेपाली मूलका दोस्रो पुस्तालाई मातृभूमिको विकाससँग जोड्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहिलोपटक दोस्रो पुस्ताको विश्व सम्मेलन आयोजना गर्ने भएको छ। आगामी सन् २०२७ जनवरी २ देखि ७ (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौं र धुलिखेलमा सम्मेलन हुनेछ।

‘कनेक्ट, एक्सप्लोर, शेप’ मूल नारासहित आयोजना हुने सम्मेलनले प्रवासी युवाको ज्ञान, सीप, पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको सामाजिक, आर्थिक तथा संस्थागत विकासमा उपयोग गर्ने लक्ष्य राखेको छ।

आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, पहिचान र मातृभूमिसँग जोड्दै एनआरएनए अभियानमा अर्थपूर्ण सहभागिता गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

सम्मेलन संयोजक एवं आईसीसी उपमहासचिव अनुजा प्रधानले विश्वभर रहेका दोस्रो पुस्ताका नेपाली युवाबीच सञ्जाल विस्तार, अनुभव आदानप्रदान र मातृभूमिसँगको भावनात्मक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न सम्मेलनले साझा मञ्च प्रदान गर्ने बताइन्।

पाँच मुख्य विषयमा बहस

जनवरी ३ मा हुने मुख्य सम्मेलनमा पाँच विषयगत सत्र सञ्चालन गरिनेछन्। नेपाली भाषा, संस्कृति र पहिचानको पुस्तान्तरण, ज्ञान तथा सीप हस्तान्तरण, गैरआवासीय नेपाली नागरिकता र कानुनी संरचना, उद्यमशीलता तथा लगानी र एनआरएनएमा युवा नेतृत्व एवं संस्थागत सुधार मुख्य छलफलका विषय रहनेछन्।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, प्रविधि र अनुसन्धान क्षेत्रमा प्रवासी युवाको अनुभव तथा दक्षतालाई नेपालको विकाससँग जोड्ने उपायबारे पनि छलफल हुनेछ।

छ दिनसम्म विविध कार्यक्रम

जनवरी २ मा काठमाडौंमा स्वागत तथा उद्घाटन र नेटवर्किङ कार्यक्रम हुनेछ। जनवरी ३ मा मुख्य सम्मेलन तथा भावी सहकार्यको कार्ययोजना निर्माण गरिनेछ। जनवरी ४ मा काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा तथा हस्तकला केन्द्रको अवलोकन गराइनेछ भने जनवरी ५ मा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसम्बन्धी संस्थागत भ्रमण तथा अन्तरक्रिया हुनेछ।

जनवरी ६ र ७ मा धुलिखेलमा योग, ध्यान, प्रकृति अवलोकन र दोस्रो पुस्ताको भावी दिशा तय गर्ने ‘एक्सन रोडम्याप’ कार्यशाला आयोजना गरिनेछ। जनवरी ७ को साँझ काठमाडौंमा सांगीतिक कार्यक्रम तथा रात्रिभोजसहित सम्मेलन समापन हुनेछ।

पत्रकार सम्मेलनमा समिरा केसी, करुणा रावत, इभान शर्मा, कृति महतो, विश्वजित बी. थापा, जागृत पौडेल, रोबर्ट विश्वकर्मा र गौरवराज केसीले विभिन्न सत्रबारे जानकारी दिएका थिए। कार्यक्रमको सञ्चालन जस्मिन सैयदले गरेकी थिइन्।

एनआरएनएले सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद्, सञ्चारकर्मी तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।

विदेशमा हुर्किएको नयाँ पुस्ताको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको समृद्धिसँग जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको सम्मेलनलाई प्रवासी नेपालीको नयाँ पुस्तासँगको सम्बन्ध संस्थागत गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  १० : १५ बजे

प्रवासी नेपाली दोस्रो पुस्ताको पहिलो विश्व सम्मेलन काठमाडौं र धुलिखेलमा हुँदै

काठमाडौं । विदेशमा जन्मिएका, हुर्किएका र अध्ययन गरेका नेपाली मूलका

ओली नेतृत्वको सरकारले अघि बढाएको जनकपुर–अयोध्या रेल सेवा आज मोदी र बालेनले शुभारम्भ गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय वार्ता, नेपाल–भारत सम्बन्ध मुख्य एजेन्डा

काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले

हिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’

काँग्रेस एकजुट भएर लड्यो भने कसैले हराउन सक्दैन : नेता कोइराला

भैरहवा । नेपाली काँग्रेसका नेता डा.शंशाक कोइरालाले काँग्रेस एकजुट भएर