काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको जनकपुर–अयोध्या रेल सेवा आज औपचारिक रूपमा शुभारम्भ गर्ने तयारी गरिएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई रेलमार्गबाट जोड्ने यो महत्वपूर्ण योजनाले लामो प्रक्रियापछि कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको हो। यसले दुई देशबीचको आवागमन, धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
दुईदिने भारत भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय कार्यक्रममा सहभागिता जनाउनेछन्। निर्धारित कार्यतालिकाअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य आकर्षणका रूपमा बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय भेटवार्तालाई लिइएको छ। त्यसलगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, पूर्वाधार विकास र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दिउँसो १२ः३५ बजे नेपाल र भारतबीच सहकार्यका विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रम छ। यसक्रममा जनकपुर–अयोध्या रेल सेवासँगै प्रहरी एकेडेमी र एकीकृत जाँच चौकीलगायत परियोजनाको संयुक्त उद्घाटन गरिनेछ। त्यस्तै, अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारी छ।
सोही अवसरमा दुई देशबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान गरिनेछ। दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको राजनीतिक सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र विकास साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी जनकपुर–अयोध्या रेल सेवा र पेट्रोलियम पाइपलाइन विस्तारले दुई देशबीचको सम्पर्क तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया