काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत सम्बन्ध र आर्थिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषय प्राथमिकतामा रहनेछन्।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ।
प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नेछन्। साथै नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै नेपालमा भारतीय लगानी विस्तारका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।
भ्रमण तालिका
आज आइतबार
- दिउँसो १:४५ बजे : दिल्ली प्रस्थान
- अपराह्न ३:१५ बजे : दिल्ली अवतरण
- साँझ ६ बजे : भारतीय विदेशमन्त्रीसँग भेट
सोमबार
- बिहान १० बजे : राष्ट्रपति भवनमा सम्मान ग्रहण
- बिहान १०:४० बजे : राजघाटमा श्रद्धाञ्जली
- बिहान ११ बजे : प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता
- दिउँसो १२:२५ बजे : संयुक्त पत्रकार सम्मेलन
- दिउँसो ३:१५ बजे : राष्ट्रपति मुर्मूसँग भेट
- अपराह्न ४:५० बजे : स्वदेश प्रस्थान
प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।







प्रतिक्रिया