काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्ने अन्तिम अवसरका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने दोस्रो क्वालिफायरमा दुवै टोलीको लक्ष्य जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्नु हुनेछ।
चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आफ्नो स्थान पक्का गरेको हो। सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो अवसरको खोजीमा छ।
समूह चरणमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले पुरानो नतिजालाई निरन्तरता दिने लक्ष्य सुदूरपश्चिमको हुनेछ भने चितवन बदला लिँदै फाइनल पुग्ने दाउमा छ।
आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल फाइनल प्रवेशको निर्णायक परीक्षा बनेको छ।







प्रतिक्रिया