काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा आयोजित भव्य छठ पूजा समारोहमा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूको गरिमामय उपस्थिति रहेको थियो।
उक्त अवसरमा उपराष्ट्रपति यादवले श्रद्धा र भक्तिपूर्वक छठी माताको पूजा–आराधना गर्दै सम्पूर्ण देशवासीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
उक्त समारोहमा श्रीमती प्रमिला देवी साह तथा नेहा साहको पनि उपस्थिति रहेको थियो।
छठ पर्व नेपाली समाजको आस्था, श्रद्धा, पवित्रता र सांस्कृतिक पहिचानको अनुपम प्रतीक हो। सूर्यदेव तथा छठी माताको उपासना गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने यस महान् पर्वले परिवारको सुख, सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दछ।
यस पर्वले धार्मिक आस्था र परम्परालाई जीवन्त राख्नुका साथै समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्दै आएको छ। साथै, नेपाली मौलिक संस्कृति र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
उपराष्ट्रपति यादवको गरिमामय उपस्थितिले समारोहको महत्त्व र प्रतिष्ठालाई थप उचाइ प्रदान गर्नुका साथै छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देशलाई अझ सशक्त बनाएको छ।







प्रतिक्रिया