काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दुवै प्रदान गर्ने भएको छ। बैंकको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावअनुसार शेयरधनीले ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) पाउनेछन्। बोनस शेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार शेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने जनाइएको छ। बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो। साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। सर्वसाधारण शेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम पनि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्। साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले रोशन केसीलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ।
माछापुच्छ्रे बैंकले विगतका वर्षहरूमा बोनस शेयर र नगद लाभांशमार्फत शेयरधनीलाई प्रतिफल वितरण गर्दै आएको छ। उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा बैंकले १६ प्रतिशत, २०७६/७७ मा १०.४० प्रतिशत, २०७७/७८ मा १४ प्रतिशत र २०७९/८० मा १४ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा ८ प्रतिशत लाभांश दिएको बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश पारित गरेको छ।







प्रतिक्रिया