२०८३, १२ भाद्र शनिबार

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य


काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका कारण नभई विशाल चट्टान खस्दा त्यसको कम्पनले हिमनदी (ग्लेसियर) धसिएर सिर्जिएको घटनाको परिणाम भएको प्रारम्भिक निष्कर्षमा विज्ञहरू पुगेका छन् ।

पर्वतीय भू–आकृति विज्ञान तथा हिमनदी विज्ञ डा. धनञ्जय रेग्मीका अनुसार यस घटनाले नेपालको विपद् पूर्वसूचना प्रणालीमा रहेको गम्भीर कमजोरी पनि उजागर गरेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. रेग्मीले जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य बाढी र पहिरोमा ध्यान दिए पनि हिमाली क्षेत्रमा हुने यस्ता उच्च जोखिमका घटनाका लागि आवश्यक पूर्वसूचना प्रणाली विस्तार गर्न नसकेको बताए ।

उनका अनुसार नेपालमा हाल करिब दुई हजार ७० वटा हिमताल रहेको पछिल्लो अध्ययनले देखाएको छ । तीमध्ये नेपालका २१, चीनका २५ र भारतको एक गरी ४७ वटा हिमताल उच्च जोखिममा छन् । चीनका २५ र भारतको एक हिमताल फुटे पनि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने सम्भावना रहेको उनले बताए ।

‘कम्तीमा नेपालभित्र रहेका २१ वटा उच्च जोखिमयुक्त हिमतालको तल पूर्वसुचना प्रणाली राखिएको हुनुपथ्र्यो,‘ उनले भने । उनका अनुसार पानीको सतह मापन गर्ने स्वचालित गेज, उपग्रहबाट सूचना संकलन र साइरनमार्फत समुदायलाई तत्काल सचेत गराउने प्रविधि अहिले तुलनात्मक रूपमा कम लागतमै स्थापना गर्न सकिन्छ । उनले गत वर्ष जुलाई ८, २०२५ मा यही क्षेत्रमा भएको बाढीबाट सरकारले पाठ सिक्न नसकेको टिप्पणी गरे । त्यस घटनापछि जोखिम पुष्टि गर्ने अध्ययन सार्वजनिक भइसके पनि एक वर्षसम्म आवश्यक पूर्वसूचना प्रणाली स्थापना नभएको उनको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य समेत रहेका डा. रेग्मीका अनुसार यसपटकको घटनाबारे सुरुमा हिमताल फुटेको, ४.४ म्याग्निच्यूडको भूकम्पले ताल फुटाएको वा हिमपहिरो आएकोजस्ता विभिन्न अनुमान गरिएका थिए । तर पछिल्लो उपग्रह तस्बिर र घटनाक्रमको विश्लेषणले फरक तस्वीर देखाएको उनले बताए ।

उनका अनुसार लाङटाङ लिरुङको उत्तरी भागमा विशाल चट्टान खसेको थियो । त्यसको कम्पनले करिब तीन किलोमिटर टाढाको अर्को हिमनदी पनि एकैसाथ धसिएको देखिन्छ । ‘दुईवटा घटना लगभग सँगै भए । चट्टान खस्दा उत्पन्न ऊर्जा र कम्पनले अर्को ग्लेसियर पनि बन्द भयो,‘ उनले भने ।

यस क्रममा अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ४.४ म्याग्निच्युडको कम्पन अभिलेख गरे पनि त्यो टेक्टोनिक भूकम्प नभई माथिबाट चट्टान खस्दा उत्पन्न कम्पन भएको सम्भावना बलियो बनेको उनले बताए । त्यस घटनाको ऊर्जा करिब ५.२ म्याग्निच्युड बराबर रहेको अनुमान गरिएको उनले जानकारी दिए ।

चट्टान र हिमनदी दुवै भासिँदा ठूलो मात्रामा बरफ, ढुंगा र पानी मिसिएर तीव्र गतिमा लेन्दे खोलातर्फ बगेको उनले बताए । घर्षणका कारण बरफ तत्काल पग्लिँदै पानीमा परिणत भएको र बाढीले बाटोमा रहेका रुख, ढुंगा र अन्य सामग्री समेट्दै तल झर्दा यसको आयतन झन् बढेको उनको भनाइ छ ।

‘सुरुमा यसको गति अत्यन्त तीव्र थियो। खोलामा मिसिएपछि पनि करिब १५० देखि १८० किलोमिटर प्रतिघण्टाको गतिमा बगेको हुन सक्छ,‘ उनले भने ।

घटनास्थल नेपाल–चीन सीमाबाट करिब १६ किलोमिटर माथि रहेकाले बाढी सीमासम्म पुग्न धेरै समय नलागेको उनले बताए । आवाज सुने पनि मानिसहरूले भाग्ने पर्याप्त अवसर नपाएको उनको भनाइ छ । ‘त्यो क्षेत्र साँघुरो छ । सडकमा गाडीको लाम हुन्छ । भाग्न खोजे पनि सजिलै उम्किने अवस्था हुँदैन,‘ उनले भने ।

डा. रेग्मीले यसअघि २०१२ को सेती नदीमा आएको बाढी, बरुण उपत्यकाको घटना पनि ठूला चट्टान वा हिमनदीसँग सम्बन्धित प्रक्रियाबाट उत्पन्न भएको उदाहरण दिँदै हिमाली क्षेत्रमा अब परम्परागत मनसुनी बाढीभन्दा फरक प्रकृतिका विपद्का लागि तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा चट्टान अस्थिर हुने, हिमनदी कमजोर बन्ने र यस्ता आकस्मिक बाढीको जोखिम बढ्दै गएको छ । त्यसैले सीमापार सूचना आदानप्रदान, उच्च जोखिमयुक्त क्षेत्रमा स्वचालित निगरानी प्रणाली र समुदायमा तत्काल चेतावनी पु¥याउने संयन्त्र अब प्राथमिकताका साथ विस्तार गर्नुपर्ने उनले जोड दिए ।

पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्छ

डा. रेग्मीले नेपालका हिमाली क्षेत्रमा रहेका बस्ती र पूर्वाधार हिमताल विस्फोट तथा हिमाली क्षेत्रमा हुने ठूला पहिरोबाट उत्पन्न बाढीको उच्च जोखिममा रहेको बताएका छन् । उनले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, बाढीको ‘इनन्डेसन मोडलिङ’ र सुरक्षित स्थानतर्फ जाने पूर्वनिर्धारित मार्ग तत्काल विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

रेग्मीका अनुसार नेपालको भौगोलिक अवस्थाका कारण अधिकांश बस्ती नदी तथा खोलाका किनारमा विकास भएका छन् । रसुवाको स्याफ्रुबेँसीजस्ता बस्तीलाई तत्काल अन्यत्र सार्न सम्भव नभए पनि जोखिमको पूर्वआंकलन गरी आपत्कालीन अवस्थामा मानिसलाई सुरक्षित स्थानमा पुग्ने संरचना र मार्ग निर्माण गर्न सकिने उनको भनाइ छ ।

उनले हिमाली क्षेत्रमा रहेको पानीको ठूलो मात्रा तथा चट्टानी संरचना जुनसुकै बेला खस्दा वा विस्फोट हुँदा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने बताए । यस्तो जोखिम रसुवागढी वा केरुङमा मात्र सीमित नभई अन्नपूर्ण, लाङटाङ, सगरमाथाको इम्जा, सङ्खुवासभाको बरुण तथा तमोरलगायतका सबै हिमाली जलाधारमा रहेको उनले बताए ।

रेग्मीले इसिमोडको अध्ययनअनुसार तिब्बत क्षेत्रमा रहेका करिब २५ वटा हिमताल फुट्दा नेपालमा बाढीको प्रभाव पर्न सक्ने उल्लेख गरे । तीमध्ये केही घटनाको प्रभाव नेपालमा यसअघि नै परिसकेको उनको भनाइ छ । सन् १९८१ मा ज्याङज्याङ्बो हिमताल फुट्दा अरुण उपत्यका, १९८५ मा जानाको हिमताल फुट्दा त्रिशूली तथा २०१६ मा तिब्बतका हिमताल फुट्दा भोटेकोशीलगायत क्षेत्रमा बाढी आएको उनले बताए ।

उनका अनुसार सन् १९८१ देखि हालसम्म यस्ता घटनाबाट पाठ सिक्दै नेपालले चीनसँगको समन्वय, मौसम तथा जलमापन केन्द्र र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सकेको छैन । छिमेकी मुलुकले मात्र सूचना दिनुपर्ने अपेक्षा गर्नुको सट्टा नेपाल आफैंले आफ्नो जोखिम पहिचान र निगरानी क्षमता विकास गर्नुपर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण हिमाली चट्टान कमजोर बन्दै गएको उल्लेख गर्दै रेग्मीले भू–उपग्रहबाट प्राप्त तस्बिर तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरी हिमनदी, चट्टान र हिमतालमा भइरहेको परिवर्तनको नियमित निगरानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८३, १२ भाद्र शनिबार  ९ : १५ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका