काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात् जनै धारण तथा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा पर्व मनाउँदैछन्।
श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र धारण गर्ने धार्मिक परम्परा रहेको छ। तागाधारीले विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने तथा हातमा रक्षासूत्र बाँध्ने गर्दछन्।
धार्मिक विश्वासअनुसार जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धनले नकारात्मक शक्तिबाट सुरक्षा प्रदान गर्छ। ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने परम्परा छ।
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्छन्। विधानअनुसार पूर्णिमाअघि शुद्धीकरण तथा व्रत बसेर पूर्णिमाका दिन नदी, ताल, पोखरी वा कुण्डमा स्नान गर्ने परम्परा रहेको छ।
स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी समेत भनिन्छ।
जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा पनि लिइन्छ। जनै फेर्न र रक्षाबन्धन बाँध्न आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक तथा वाग्मती नदी किनारलगायत काठमाडौँ उपत्यका र देशभरका विभिन्न मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी हो। विभिन्न थरिका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ। वर्षायाममा क्वाँटीको सेवनले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ।
तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर पर्व मनाउने परम्परा छ। राखीले दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई थप बलियो बनाउने सामाजिक मान्यता रहेको छ। पछिल्ला वर्षहरूमा यो परम्परा पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाका अवसरमा काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत धार्मिक स्थलमा आज बिहानैदेखि विशेष पूजा तथा मेला लाग्ने गर्दछ।







प्रतिक्रिया