२०८३, ३१ श्रावण सोमबार

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब


काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै उछाल देखिएको छ। राष्ट्रियस्तरका आठ विकास बैंकले एक वर्षमै आफ्नो संयुक्त खुद नाफा करिब ३ अर्ब ३७ करोड रुपैयाँले बढाउँदै साढे ८ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएका छन्।

आर्थिक वर्ष २०८२/८३ मा यी बैंकले कुल ८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्ष ५ अर्ब २८ करोड ५५ लाख रुपैयाँमा सीमित रहेको नाफा एकै वर्षमा ६३.६८ प्रतिशतले बढेको हो। यो वृद्धिले विकास बैंकहरू कमजोर हुँदै गएको भन्ने बजारको पुरानो भाष्यलाई चुनौती दिएको छ। तर नाफाको यो उछालसँगै खराब कर्जाको तस्वीरले भने अर्को प्रश्न पनि खडा गरेको छ। केही बैंकको एनपीएल अझै उच्च छ।

गरिमा बन्यो नाफाको नम्बर वान

कुल नाफाको आकारमा गरिमा विकास बैंक सबैभन्दा अगाडि छ। बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि ज्योति विकास बैंकले १ अर्ब ५९ करोड ५२ लाख, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी नाफा गरेका छन्। अर्थात् राष्ट्रियस्तरका आठ विकास बैंकमध्ये चार बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन्।

ज्योतिको नाफामा असाधारण छलाङ

कुल नाफामा गरिमा अगाडि भए पनि वृद्धिदरमा भने ज्योति विकास बैंकले असाधारण छलाङ मारेको छ। अघिल्लो वर्ष करिब १० करोड रुपैयाँमा सीमित बैंकको नाफा यसपटक १ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ। नाफा वृद्धिदर ९०५.७५ प्रतिशत पुगेको छ। लुम्बिनी विकास बैंकको नाफा पनि २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। शाइन रेसुङ्गाको नाफा ८२.९६ प्रतिशत, महालक्ष्मीको ४८.४६ प्रतिशत र सांग्रिलाको ४६.९६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंकको नाफा ३३.५० प्रतिशत र मुक्तिनाथको १२.४४ प्रतिशतले बढेको छ।

मुक्तिनाथ पनि अर्ब क्लबमा

मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको १ अर्ब ३५ करोड ३ लाख रुपैयाँको तुलनामा नाफा १२.४४ प्रतिशतले बढेको हो।

शाइन रेसुङ्गाको नाफा पनि अर्बमाथि

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ८२.९६ प्रतिशतले बढेको हो।

कामना सेवाको कमाइ ८९ करोड

कामना सेवा विकास बैंकले ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ३३.५० प्रतिशतले बढेको हो।

सांग्रिलाले पनि बलियो सुधार गर्‍यो

सांग्रिला डेभलपमेन्ट बैंकले ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ६० करोड ६६ लाख रुपैयाँको तुलनामा नाफा ४६.९६ प्रतिशतले बढेको हो।

लुम्बिनीको नाफामा ठूलो छलाङ

लुम्बिनी विकास बैंकले ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको २४ करोड ११ लाख रुपैयाँबाट नाफा २५२.९६ प्रतिशतले बढेको हो। वृद्धिदरका हिसाबले लुम्बिनी दोस्रो बलियो बैंक बनेको छ।

महालक्ष्मीको नाफा पनि उकालो

महालक्ष्मी विकास बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ४२ करोड ४३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ४८.४६ प्रतिशतले बढेको हो।

नाफा बढ्यो, तर जोखिम हटेको छैन

नाफाको तस्वीर उत्साहजनक भए पनि विकास बैंकहरूको अर्को सूचकले सावधानी अपनाउनुपर्ने संकेत गरेको छ। आठमध्ये अधिकांश बैंकको खराब कर्जा अनुपात बढेको छ। केही बैंकको एनपीएल ५ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ। अर्कोतर्फ कामना सेवा विकास बैंकको एनपीएल ३.७७ प्रतिशतमा सीमित छ। यसले नाफा बढेको छ भन्दैमा बैंकको वित्तीय स्वास्थ्य पूर्ण रूपमा सुध्रिएको निष्कर्ष निकाल्न नमिल्ने देखाउँछ। नाफा वृद्धिमा खराब कर्जा व्यवस्थापन, कर्जा असुली, प्रोभिजनमा आएको कमी र ब्याज आम्दानीमा सुधारको भूमिका देखिएको छ।

अब लाभांशको पालो

नाफा बढेसँगै लगानीकर्ताको अर्को चासो लाभांशमा पुगेको छ। उपलब्ध वितरणयोग्य नाफाका आधारमा गरिमा विकास बैंकको लाभांश क्षमता २०.२३ प्रतिशत पुगेको छ। लुम्बिनीको १६.९९, कामनाको १५.१६ र एक्सलको १४.३८ प्रतिशत क्षमता देखिएको छ। यसले विकास बैंकको वित्तीय तस्वीरमा अर्को रोचक पक्ष थपेको छ-नाफा मात्रै बढेको छैन, शेयरधनीसम्म पुग्न सक्ने प्रतिफलको सम्भावना पनि बलियो बनेको छ। तर अबको असली परीक्षा नाफा कमाउनुमा होइन, यो नाफा कति दिगो हुन्छ र खराब कर्जाको दबाब कति नियन्त्रण गर्न सकिन्छ भन्नेमा हुनेछ।

विकास बैंकहरूले यसपटक तथ्यांकमा ठूलो छलाङ मारेका छन्। अब बजारले हेर्नेछ- यो केवल एक वर्षको नाफाको उछाल हो कि विकास बैंकिङ क्षेत्रको नयाँ मोड ?

पावेल शाही

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  १० : ०४ बजे

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन

विराटनगर । प्रहरीको नियमित खानतलासीलाई लिएर मोरङ कारागारका कैदीबन्दीले सोमबार

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो