काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने तयारी छ। भेटवार्तामा नेपाल–भारतबीचको सुरक्षा सहकार्य, द्विपक्षीय हित तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ।
सेठको भ्रमणको मुख्य कार्यक्रम भने सोमबार हुनेछ। राष्ट्रपति पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्। काठमाडौं बसाइका क्रममा भारतीय प्रधानसेनापतिले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। जनरल सेठले सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन्। नेपाल भ्रमण उनको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणसमेत हो।
नेपाल र भारतबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि निरन्तर रहँदै आएको छ। यही परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि गत मंसिरमा भारतको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।
भारतीय प्रधानसेनापतिको भ्रमणलाई दुई देशबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।







प्रतिक्रिया