तथ्यहीन प्रचारले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्ने भन्दै आधिकारिक तथ्यमा आधारित समाचार लेख्न आग्रह
काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक, सञ्चालक समिति, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रेस विज्ञप्तिमार्फत तथ्य र प्रमाणबिनाका समाचारले संस्थाको प्रतिष्ठासँगै बैंकिङ प्रणालीप्रतिको सार्वजनिक विश्वासमा समेत असर पार्न सक्ने भन्दै यस्ता विषयमा जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ।
प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्यजिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली तथा धितो लिलामी बैंकिङ व्यवसायमा हुने नियमित प्रशासनिक र व्यावसायिक प्रक्रिया हुन्।
कर्मचारी सरुवा वा जिम्मेवारी परिवर्तनलाई असामान्य घटनाका रूपमा व्याख्या गर्नु उपयुक्त नभएको बैंकको भनाइ छ। बैंकले संस्थाको आवश्यकता, कार्यसम्पादन, प्रशासनिक व्यवस्थापन तथा व्यवसायिक आवश्यकताका आधारमा कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा हुने स्पष्ट पारेको छ।
त्यस्तै, कर्जा असुलीका क्रममा प्रचलित कानुन र नियामकीय व्यवस्थाअनुसार धितो लिलामी प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। कर्जा असुली गर्न नसकिएको अवस्थामा बैंकिङ कानुन तथा सम्बन्धित प्रक्रियाअनुसार धितो बिक्री गरी कर्जा असुल गर्ने व्यवस्था रहेको भन्दै यस्तो प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउनु उचित नहुने बैंकको धारणा छ।
बैंकले केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र सम्बन्धित विषय सक्षम अदालतमा विचाराधीन रहेको समेत जनाएको छ। अदालतमा विचाराधीन विषयमा अन्तिम निष्कर्ष नआउँदै अनुमान वा अपुष्ट विवरणका आधारमा समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको प्रतिष्ठामा असर पर्न सक्ने बैंकले उल्लेख गरेको छ।
प्रभु बैंकले नियामकीय व्यवस्था र प्रचलित कानुनको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई निरन्तर सुदृढ बनाउँदै आएको जनाएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन आवश्यक सुधारात्मक तथा संस्थागत उपायहरू कार्यान्वयन गरिरहेको बैंकको भनाइ छ।
बैंकका अनुसार सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने निर्णयहरू प्रचलित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डअनुसार नै हुने गरेका छन्।
बैंकले संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको पनि स्पष्ट पारेको छ।
प्रभु बैंकले सञ्चारमाध्यमलाई कुनै पनि विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग आधिकारिक जानकारी तथा प्रतिक्रिया लिएर तथ्य पुष्टि गर्न आग्रह गरेको छ।
बैंकिङ क्षेत्र सर्वसाधारणको निक्षेप, ऋण, लगानी र समग्र वित्तीय प्रणालीसँग प्रत्यक्ष जोडिने भएकाले यस क्षेत्रका समाचारमा तथ्य र सन्दर्भको शुद्धता महत्वपूर्ण हुने बैंकको भनाइ छ।
बैंकले आलोचना र प्रश्न उठाउने सञ्चारमाध्यमको अधिकारलाई सम्मान गर्दै तथ्यमा आधारित समाचारको अपेक्षा गरेको जनाएको छ। तथ्य, प्रमाण र आधिकारिक सूचनामा आधारित पत्रकारिताले मात्र बैंकिङ प्रणालीप्रतिको जनविश्वासलाई थप बलियो बनाउने बैंकको निष्कर्ष छ।
प्रभु बैंकले आगामी दिनमा पनि पारदर्शिता, सुशासन, जोखिम व्यवस्थापन र नियामकीय अनुपालनलाई प्राथमिकतामा राख्दै सेवा तथा संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।







प्रतिक्रिया