२०८३, २२ श्रावण शनिबार

ईभी बजारमा दुई नयाँ खेलाडीको ‘इन्ट्री’, पन्च र बी-०३ एक्सले तान्दैछन् ग्राहक

ईभी बजारमा दुई नयाँ खेलाडीको ‘इन्ट्री’, पन्च र बी-०३ एक्सले तान्दैछन् ग्राहक


काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा झन् तात्ने भएको छ। बजेटमै एसयूभी चाहने ग्राहकलाई लक्षित गर्दै टाटा पन्च ईभीको नयाँ संस्करण र लीपमोटर बी–०३ एक्स नेपाली बजारमा सार्वजनिक भएका छन्।

ईभी किन्ने ग्राहकका लागि अब विकल्प झन् फराकिलो भएको छ। आकर्षक डिजाइन, ठूलो ब्याट्री, लामो रेन्ज र आधुनिक फिचरलाई केन्द्रमा राखेर आएका यी दुई गाडीले बजारमा पहिल्यै स्थापित ईभी एसयूभीलाई चुनौती दिने देखिएको छ।

पन्च ईभी : पुरानै नाम, नयाँ ‘अवतार’

नेपाली ग्राहकका लागि परिचित टाटा पन्च ईभी अब पहिलेभन्दा बढी क्षमता र नयाँ फिचरसहित आएको छ।

नयाँ पन्चमा ३० किलोवाट आवर र ४० किलोवाट आवरका ब्याट्री विकल्प दिइएको छ। अघिल्लो संस्करणमा २५ र ३५ किलोवाट आवरका ब्याट्री प्रयोग हुँदै आएका थिए।

यसपटक चार्जिङ क्षमतामा समेत सुधार गरिएको छ। नयाँ पन्चले ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ। यसको अर्थ लामो यात्रामा चार्जिङका लागि धेरै समय कुर्नुपर्ने झन्झट कम गर्ने लक्ष्य राखिएको छ।

डिजाइनतर्फ पनि टाटाले परिवर्तन गरेको छ। १६ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्वील, नयाँ फ्रन्ट तथा रियर डिजाइन र परिमार्जित इन्टेरियरले गाडीलाई पहिलेभन्दा आधुनिक देखाएको छ।

भित्र १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिनसँगै १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ। सुरक्षामा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता सुविधा छन्।

बी–०३ एक्स : रेन्जमा ‘ठूलो दाबी’

नेपाली बजारका लागि नयाँ नाम भए पनि लीपमोटर बी–०३ एक्सले आफ्नो पहिलो प्रवेशमै रेन्ज र चार्जिङ क्षमताका कारण ध्यान तानेको छ।

यसमा १४५ किलोवाटको विद्युतीय मोटर र ५३ किलोवाट आवरको ब्याट्री छ। निर्माता कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

सबैभन्दा आकर्षक दाबी भनेको यसको फास्ट चार्जिङ क्षमता हो। डीसी फास्ट चार्जरबाट ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब १६ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ।

डिजाइनमा पनि बी–०३ एक्सले फरकपन खोजेको छ। कम्प्याक्ट एसयूभीको आकार, गोलाकार डिजाइन र सेमि–हिडन डोर ह्यान्डलले यसलाई आधुनिक लुक दिएको छ।

क्याबिनमा १४.६ इन्चको ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन राखिएको छ। ५१० लिटरको बुटस्पेसले पारिवारिक प्रयोगका लागि समेत पर्याप्त ठाउँ उपलब्ध गराउनेछ।

ग्राहकलाई फाइदा, कम्पनीलाई चुनौती

नेपालमा ईभीको माग बढ्दै जाँदा बजारमा एउटै मूल्य समूहमा धेरै ब्रान्ड र मोडलबीच प्रतिस्पर्धा हुन थालेको छ। यस्तो अवस्थामा नयाँ पन्च र बी–०३ एक्सको प्रवेशले ग्राहकलाई थप विकल्प दिएको छ।

पन्च ईभीले परिचित ब्रान्ड, परिमार्जित प्रविधि र व्यावहारिक प्रयोगलाई आफ्नो बल बनाएको छ। बी–०३ एक्सले भने ५०५ किलोमिटर रेन्ज, तीव्र चार्जिङ र आधुनिक डिजाइनलाई आफ्नो मुख्य आकर्षण बनाएको छ। अब यी दुईमध्ये ग्राहकको रोजाइ कसले जित्छ भन्ने कुरा केवल ‘कति सस्तो’ भन्नेमा सीमित हुने छैन। रेन्ज, चार्जिङ समय, फिचर, बिक्रीपछिको सेवा र मूल्य- यी सबैले नेपाली बजारमा दुई नयाँ ईभीको भविष्य निर्धारण गर्नेछन्। ईभी बजारमा विकल्प खोजिरहेका ग्राहकका लागि भने एउटा कुरा स्पष्ट छ-अब कम बजेटमा एसयूभी रोज्ने प्रतिस्पर्धा झन् रोचक बनेको छ।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  १२ : ४४ बजे

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हुन् : प्रभु बैंक

तथ्यहीन प्रचारले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्ने भन्दै आधिकारिक तथ्यमा

कामना सेवा विकास बैंकको कमाइ बलियो बन्दै, १५ प्रतिशतभन्दा बढी लाभांशको आधार तयार

नाफा ३३ प्रतिशत उक्लियो, ईपीएस २२.७५ रुपैयाँ; सञ्चालन मुनाफा १