दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक ठूलो तेल ट्यांकरमा ड्रोन आक्रमण भएको छ। घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव परेको छ।
कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार ‘अल–सल्मी’ नामक ट्यांकर अङ्करेज क्षेत्रमा रहेका बेला आक्रमणमा परेको हो। उक्त ट्यांकर पूर्ण रूपमा कच्चा तेलले भरिएको अवस्थामा रहेको बताइएको छ।
कुवेत पेट्रोलियम निगम(केपीसी) ले घटनालाई ‘आपराधिक हमला’ भन्दै कडा शब्दमा निन्दा गरेको छ। आक्रमणपछि जहाजमा आगलागी भएको देखिएको छ भने समुद्रमा तेल चुहावटको जोखिम रहेको जनाएको छ। हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन।
दुबई मिडिया कार्यालयका अनुसार समुद्री अग्निनियन्त्रक टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्। ‘अङ्करेज–ई’ क्षेत्रमा भएको घटनामा सम्बन्धित निकायहरूले तत्काल प्रतिक्रिया जनाएका छन्।
यसैबीच, बेलायती सेनाद्वारा सञ्चालित (यूकेएमटीओ) ले पनि घटनाको पुष्टि गरेको छ। ट्यांकर दुबईबाट करिब ३१ नटिकल माइल उत्तर–पश्चिममा रहेको बेला आक्रमणमा परेको जनाएको छ। प्रारम्भिक विवरणमा वातावरणीय क्षतिको पुष्टि भने भइसकेको छैन।
यो घटना होरमुज जलडमरूमध्य क्षेत्रमा बढ्दो असुरक्षाको अर्को संकेतका रूपमा हेरिएको छ। संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीच बढ्दो तनावका कारण खाडी क्षेत्रमा यस्ता आक्रमणका घटना बढ्दै गएका छन्।
घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा असर परेको छ। अमेरिकी कच्चा तेलको सूचक (डब्ल्यूटीआई) को मूल्य ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ अमेरिकी डलर नाघेको छ। यो सन् २०२२ यताकै पहिलो पटक १०० डलरभन्दा माथि पुगेको हो।








प्रतिक्रिया