काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा र कम्बोडियाको सहयोगमा उनीहरुलाई सुरक्षित उद्दार गरिएको हो।
दूतावासका अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्र, अनलाइन ठगी गर्ने क्यासिनो र अन्य गैरकानुनी काममा लगाइएका तथा विनाभिसामा बसिरहेका व्यक्तिहरू हुन्।
उद्धार गरिएका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको थियो। उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
दूतावासले जानकारी दिएको छ कि कम्बोडियामा अझै अलपत्र परेका अन्य नेपाली पनि रहेका छन् र उनीहरूको उद्धारका लागि पहल भइरहेको छ। कठिन अवस्थामा रहेका नेपालीहरूले बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांक अनुसार, सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ नेपाली कम्बोडियामा पुगेका छन्।
दूतावासले चेतावनी दिँदै कुनै प्रलोभनमा नपरी, नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता मुलुकहरूमा जान सचेत हुन आग्रह गरेको छ।








प्रतिक्रिया