धेरैपछि काठमाडौँ आएको छु,
अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक लाग्यो। हावा उस्तै थियो, धुलो उस्तै थियो, भीड उस्तै थियो-तर मन उस्तै रहेन। काठमाडौँले मलाई चिनेको जस्तो लागेन, र मैले पनि काठमाडौँलाई पहिलेझैँ चिन्न सकेको थिइनँ। सायद समय धेरै बितिसकेको थियो, सायद हामी दुवै बदलिएका थियौँ ।
पहिले काठमाडौँ आउँदा मन उत्साहले भरिन्थ्यो । शहर देख्ने, मानिस भेट्ने, नयाँ सम्भावना खोज्ने चाहना हुन्थ्यो । यसपटक भने मन अलि भारी थियो । काठमाडौँ आउनु यात्रा मात्रै थिएन, यो सम्झनामा फर्किनु पनि थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कँदा भीडले घेरेजस्तै गर्यो । कसैलाई समयको हतार, कसैलाई फोन, कसैलाई पैसा, कसैलाई भविष्य । म भने बिस्तारै हिँड्न चाहन्थेँ । धेरैपछि आएको मान्छे । म हेर्न चाहन्थेँ, महसुस गर्न चाहन्थेँ, सम्झनाका ती पुराना दिनहरू- तरेलीमा राखेर हिँड्न चाहन्थेँ ।
सडक उस्तै देखिन्थे, तर उस्तै रहेनन् । पहिले चिनेका ठाउँहरू नयाँ नाममा बदलिएका थिए । पुराना घरका ठाउँमा अग्ला भवन उभिएका थिए । कतिपय गल्लीहरू सम्झनामा जति साँघुरा थिए, अहिले झन् साँघुरा लाग्यो । मानिस बढेका छन्, ठाउँ घटेको छ जस्तो लाग्यो ।
म ठमेल पुगेँ । पहिले ठमेल रमाइलो लाग्थ्यो, विदेशी अनुहार, संगीत, रङ्गीन बत्ती । यसपटक ठमेलले थकान देखायो । भीड धेरै थियो, हाँसो कम । पसल खुलेका थिए, तर आँखामा बेचैनी थियो । मलाई लाग्यो-ठमेल पनि उमेर पुगेको मान्छेजस्तै भइसकेछ ।
दरबारमार्ग हिँड्दा झनै फरक महसुस भयो । पहिले यो ठाउँ हेरेर म भविष्यको कल्पना गर्थें । आज यहीँ उभिएर विगत सम्झिएँ । अग्ला भवन, चिल्ला सटर, महँगा गाडी-सबै देखिन्थे । तर त्यसभित्र मान्छेका अनुहारमा सन्तुष्टि कमै थियो । सायद शहर धनी हुँदैछ, तर मन गरिब ।
असन्तुष्ट अनुहारहरू हेर्दै हिँड्दा मेरा पुराना साथीहरू सम्झिए । हामी सँगै काठमाडौँ आएका थियौँ । एउटै कोठामा बसेका थियौँ । चिया पसलमा घण्टौँ गफ गरेका थियौ । आज ती साथीहरू कोही विदेशमा छन्, कोही आफ्नै संघर्षमा हराएका छन्। फोन र सामाजिक सञ्जालमा अनुहार देखिन्छ, आवाज सुनिन्छ-तर पहिलेको जस्तो न्यानोपन छैन । स्पर्श त झन् हराइसक्यो ।
काठमाडौँले धेरै सपना जन्माएको थियो, तर ती सपना धेरै टिक्न सकेनन् । यहाँ आउँदा लाग्थ्यो-यहाँ केही न केही हुन्छ । अहिले लाग्छ-यहाँ सबै सम्भव देखिन्छ, तर सबै सम्भव हुँदैन ।
एक बिहान पशुपतिनाथ पुगेँ । धेरैपछि आएको मन शान्ति खोजिरहेको थियो । बागमती उस्तै बगेको थियो, तर पानी उस्तै थिएन । मन्दिरको घण्टी उस्तै बजेको थियो, तर मनको आवाज फरक थियो । मानिस धेरै थिए, तर मौन कम । सबैलाई हतार थियो-पूजा सकेर फर्किन, फोटो खिचेर जान, अनि हतार-हतार सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक र कमेन्ट गन्न ।
आज पशुपतिमा उभिँदा जीवन छोटो लाग्यो । काठमाडौँको जीवन साँच्चै छोटो भएको हो कि ? मनले मनलाई प्रश्न सोध्यो । यहाँ सबै दौडिरहेका छन्, कसैलाई रोक्ने फुर्सद छैन । म भने धेरैपछि आएको मान्छे, रोकिएर हेर्न चाहन्थेँ ।
बानेश्वर, पुतलीसडक, कोटेश्वर हुँदै हिँड्दा भित्ताभित्तामा टाँसिएका होर्डिङ बोर्डहरू देखेँ
“विदेश पठाइन्छ”,
“कामको अवसर”,
“छिटो भिसा”।
यी पहिले पनि थिए, तर यसपटक तिनले मन छोए । लाग्यो-काठमाडौँ अब बस्ने शहरभन्दा पठाउने शहर बनेको छ ।
नेपालबाट दैनिक करिब एक हजार पाँच सय युवा देश छोड्दैछन् -आज पनि, हिजो पनि, भोलि पनि । अक्षरमा यो केवल संख्या हो, तर यसको अर्थ बुझ्दा मुटु भारी हुन्छ । हरेक दिन भान्सामा एउटा सपना खाली हुन्छ । एक हजार पाँच सय आमाले छोराको सम्झानमा टोलाईन्छन्, एक हजार पाँच सय बाबुले आँखा लुकाएर आँगनतिर हेर्छन्, र एक हजार पाँच सय युवाले आफ्नै देशलाई पछाडि छोडेर अनिश्चित भविष्यतर्फ पाइला चाल्छन् हातमा पासपोर्ट, मनमा डर, आँखामा लुकाइएका सपना बोकेर ।
आज करिब ७० लाख नेपाली युवा काम, अध्ययन र जीवनको खोजीमा देशबाहिर छन् । ७० लाख सपना, ७० लाख श्रम, ७० लाख सम्भावना आँसु, रगत र पसिनासँग भविष्य साटिरहेका छन् । गाउँ-सहर सुनसान हुँदैछन् । खेत बाँझिँदैछन्। विद्यालय खाली हुँदैछन । गाउँ सहर विस्तारै बूढो हुँदैछ । देशभित्र देशको भविष्य खोज्ने उमेर समूह नै विदेशिएको छ ।
देश छोड्नु युवाको रहर होइन, देश माया नलागेर होइन,यो बाध्यता पनि हो । युवाहरू भन्छन् यहाँ पढाइपछि काम छैन, सीप छ तर अवसर छैन, मेहनत छ तर मूल्य छैन । यहाँ योग्यता होइन, पहुँच हुनेहरु नै निर्णायक बन्छ ।
राजनीतिक दलहरूको “स्वदेशमै रोजगारी” भन्ने नारा दशकौँदेखि दोहोरिन्छ । तर त्यो नारा भाषणमै सीमित हुन्छ, घोषणापत्र र दस्तावेज कागजमै थन्किन्छ । अनि युवाको भविष्य विदेशको भिसा काउन्टरमा अड्किन्छ ।
शहरभरि टाँसिएका ती होर्डिङ बोर्डहरू कहिले बोल्छन्, कहिले मौन चित्कार गर्छन् । आमाको आँसु, छोराको आशा, बाबुको पीडा-सबै ती शब्दहरूमा टाँसिएजस्तो लाग्छ ।
रेमिट्यान्सले आज देश धानिएको छ । घर चलेका छन्, बजार चलेका छन्, राज्य ढुक्क देखिन्छ । तर यो ढुक्कपन भ्रम हो। मान्छे निर्यात गरेर देश समृद्ध हुँदैन । रेमिट्यान्सले भान्साको चुलो बल्छ, तर राष्ट्र निर्माण हुँदैन, स्वाभिमान उकासिँदैन । देश बनाउन उद्योग चाहिन्छ, अनुसन्धान चाहिन्छ, प्रविधि चाहिन्छ, र सबैभन्दा बढी युवालाई यहीँ भविष्य देखाउने स्पष्ट, दीर्घकालीन नीति र कार्यक्रम र भीजन चाहिन्छ ।
पहिले काठमाडौँ आउँदा भविष्य यहीँ देखिन्थ्यो । अहिले यो भविष्य यहीँ खोजेर नपाएका मानिसहरूको शहर जस्तो लाग्यो । यहाँ मानिस छन्, तर धेरैको मन बाहिर कतै छ ।
साँझ पर्न लाग्दा आकाश अलि सफा भयो । डाँडापाखामा घाम अस्ताउँदै थियो । त्यो दृश्य उस्तै सुन्दर थियो । काठमाडौँ अझै सुन्दर छ, तर त्यो सुन्दरताभित्र थकान मिसिएको छ ।
राति पुरानो कोठा सम्झिएँ, साँघुरो, तर सपनाले भरिएको । आज ती सपना कतै विदेशका सहरमा काम गरिरहेका छन्, कतै सम्झनामा मात्रै बाँकी छन् ।
धेरैपछि शहर आएको ।
यो शहरले मलाई फेरि स्वागत गर्यो । तर यसपटक त्यो स्वागत मौन थियो, न धेरै उत्साह, न धेरै निराशा, केवल एउटा प्रश्न ? काठमाडौँ बदलियो, कि म बदलिएको हुँ ?
सायद दुवै ।
काठमाडौँ अझै चलिरहेको छ । मानिस अझै हिँडिरहेका छन् । सपना अझै देखिँदैछन् । तर ती सपना बोकेर अब धेरैजना यहाँ बस्दैनन् । उनीहरू बिस्तारै विदा हुनेछन् ।
म केही दिनपछि फेरि फर्किन्छु ।
काठमाडौँ भने यहीँ रहनेछ–धुलोसँग, भीडसँग, सम्झनासँग होडिङबोर्डसँग । र मसँग एउटा भारी मन रहनेछ, धेरैपछि आएको काठमाडौँको ।
लेखक प्रवासी नेपाली मन्च
अन्तर्राष्ट्रीय कमिटी,उप सचिव तथा प्रचार बिभाग प्रमुख हुनुहुन्छ ।






प्रतिक्रिया