२०८३, ८ भाद्र मंगलबार

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा


काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले साढे सात दशक लामो वैचारिक, संगठनात्मक र नेतृत्व संघर्ष पार गर्दै एघारौँ राष्ट्रिय महाधिवेशनमा प्रवेश गरेको छ । पटक–पटकको विभाजन, एकता, विचारको मन्थन र नेतृत्वको पुनर्संरचनाबीच एमाले आज पनि देशकै सबैभन्दा ठूलो कम्युनिस्ट घटकका रूपमा स्थापित छ ।

नेपालमा कम्युनिस्ट आन्दोलन १० वैशाख २००६ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातास्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएपछि औपचारिक रूपमा सुरु भएको थियो । जहानियाँ राणा शासनविरुद्ध संघर्ष, सामन्तवाद र साम्राज्यवादविरुद्धको वैचारिक लडाइँ त्यसबेलाको मुख्य उद्देश्य थियो ।

२००७ सालको राजनीतिक परिवर्तनपछि नेकपाभित्र नेतृत्व र कार्यदिशाको विवाद चर्किँदै गयो । पहिलो महाधिवेशन (२०१०) बाट मनमोहन अधिकारी महासचिव बने पनि डा. केशरजंग रायमाझी र पुष्पलालबीच दुई लाइन संघर्ष सुरु भयो । दोस्रो महाधिवेशनमा नीति पुष्पलालको पारित भए पनि नेतृत्व रायमाझीको हातमा पुग्यो । राजा महेन्द्रको २०१७ सालको ‘कू’ लाई रायमाझीले समर्थन गरेपछि पार्टीभित्र गहिरो विभाजन आयो ।

तेस्रो महाधिवेशन (२०१९) ले तुल्सीलाल अमात्यलाई महासचिव बनायो तर सोभियत संघ र चीनबीचको वैचारिक द्वन्द्वको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पर्‍यो । ‘रूसपन्थी कि चीनपन्थी’ बहसले पार्टी थप टुक्रियो । २०२५ सालमा पुष्पलालले अलग समूह गठन गरेपछि नेकपा एक रहन सकेन ।

यसैबीच, २०३० को दशकमा झापा विद्रोहमार्फत नयाँ धार उदायो । सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत नेताहरूको नेतृत्वमा विकसित यही धारबाट २०३५ सालमा नेकपा (माले) स्थापना भयो, जुन आजको एमालेको मुख्य जरो बन्यो । २०४६ सालको जनआन्दोलनपछि माले र मार्क्सवादीबीच एकता भई २०४७ सालमा नेकपा एमाले गठन भयो ।

एमालेको पाँचौँ महाधिवेशन (२०४९) ले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्‍यो । यसले एमालेले संसदीय लोकतन्त्रभित्रै समाजवादतर्फ अघि बढ्ने स्पष्ट बाटो तय गर्‍यो । भण्डारीको असामयिक निधनपछि माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीजस्ता नेताहरू नेतृत्वमा आए ।

छैटौँ र सातौँ महाधिवेशनमा वैचारिक बहससँगै पार्टी विभाजन पनि देखियो । महाकाली सन्धी विवादपछि वामदेव गौतम नेतृत्वमा पार्टी फुट्यो तर पछि पुनः एकीकरण भयो । आठौँ महाधिवेशन (२०६५) ले बहुपदीय सामूहिक नेतृत्वको अवधारणा पारित गर्दै एमालेभित्र आन्तरिक लोकतन्त्रको अभ्यासलाई संस्थागत गर्‍यो ।

नवौँ महाधिवेशन (२०७१) बाट केपी शर्मा ओली अध्यक्ष बने । ओली नेतृत्वमा संविधान जारी, वाम गठबन्धन, दुई तिहाइ नजिकको जनमत र सरकार निर्माणसम्म एमाले पुगेको थियो । तर माओवादी केन्द्रसँगको एकता टिक्न सकेन । सर्वोच्च अदालतको फैसलापछि एमाले पुनःस्थापित भयो तर फेरि विभाजन भोग्नुपर्‍यो ।

दशौँ महाधिवेशन (२०७८) बाट ओली झन् शक्तिशाली नेतृत्वका रूपमा स्थापित भए । यद्यपि २०७९ को निर्वाचनपछि सत्ता राजनीतिमा उतारचढाव आइरह्यो । हाल एमाले एघारौँ महाधिवेशनमा प्रवेश गर्दा पार्टीभित्र विचारभन्दा बढी नेतृत्वको प्रतिस्पर्धा केन्द्रमा देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको प्रतिस्पर्धाले महाधिवेशनलाई थप चासोको विषय बनाएको छ ।

साढे सात दशक लामो इतिहासले देखाउँछ-एमाले विभाजन र संघर्षबाट खारिँदै आएको पार्टी हो । एघारौँ महाधिवेशनले पार्टीलाई फेरि एकताबद्ध गर्दै आगामी राजनीतिक दिशा कता लैजान्छ, त्यसले मात्र एमालेको अर्को अध्याय तय गर्नेछ ।

प्रकाशित मिति : २०८२, २७ मंसिर शनिबार  ९ : ३२ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद