२०८३, १० बैशाख शुक्रबार

बाबुराम भट्टराईले अध्यक्ष पद त्यागे : अस्थिर राजनीतिक यात्राको अर्को मोड

बाबुराम भट्टराईले अध्यक्ष पद त्यागे : अस्थिर राजनीतिक यात्राको अर्को मोड

पुनर्गठन नेतृत्वको असफलताको ‘बाहना’ मात्र


काठमाडौं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि एकपटक पार्टी नेतृत्वबाट पन्छिने निर्णय गरेका छन् । बुधबार काठमाडौंमा सम्पन्न पार्टीको विशेष विस्तारित बैठकमा उनले अध्यक्ष पद त्याग गर्ने घोषणा गरेका हुन्। तर, यो उनको राजनीतिक यात्राको कुनै नयाँ अध्याय होइन-बरु यो उनीप्रति लामो समयदेखि लाग्दै आएको आरोपलाई बल पुग्ने अर्को प्रमाण हो : राजनीतिक अस्थिरता र विचलन।

पूर्वमाओवादी नेता, सशस्त्र विद्रोहका मुख्य योजनाकार, शान्तिपछि संविधान सभाका धुरीमध्ये एक-डा. भट्टराईले विगत दुई दशकको राजनीतिक भूमिकामा पटक-पटक आफ्नै बनाएको संरचनाबाट असन्तुष्ट भएर बाहिरिने, नयाँ प्रयोग गर्ने अनि असफल भएपछि फेरि मार्ग बदल्ने कार्य दोहोर्याएका छन् । माओवादी जनयुद्धका सिद्धान्तकार मानिने भट्टराईले माओवादी पार्टीबाट अलग्गिएर ‘नयाँ शक्ति’ गठन गरे। उक्त पार्टीलाई ‘वैकल्पिक राजनीति’ को नाममा ब्रान्डिङ गरे पनि केही समयमै त्यसको मूल आधार हराउँदै गयो। न त पार्टीले जनतामाझ गहिरो पकड जमाउन सक्यो, नत संगठनात्मक रूपमा टिक्न सक्यो।

समाजवादी मोर्चातर्फको ‘प्रयोग’ पनि त्यत्तिकै अल्पायु रह्यो। जनमतको समर्थन नपाएको देखिएपछि उनले एकपछि अर्को गठबन्धन र पुनःसंरचनाको बाटो रोजे, तर त्यसले पार्टीभित्र नेतृत्वको विश्वास गुमाउँदै लगेको देखिन्छ। डा. भट्टराईले सैद्धान्तिक र वैचारिक बहस गर्ने क्षमताका नेताको रूपमा पहिचान बनाए पनि व्यावहारिक राजनीतिमा उनी बारम्बार असफल भएका छन्। संगठन निर्माण, जनसंगठन विस्तार, सांगठनिक एकता-यी सबैमा उनले नेतृत्व क्षमता देखाउन सकेका छैनन्।

उनीप्रति आलोचकहरूको ठोस आरोप छ विचार धेरै, तर कार्यनीति अस्पष्ट। पार्टीको प्रत्येक महत्त्वपूर्ण मोडमा उनी स्वयं पछि हट्ने, नेतृत्व अरूलाई सुम्पने तर पृष्ठभूमिबाट नियन्त्रण गर्ने शैलीले पार्टीको स्वाभाविक गतिशीलतालाई अवरुद्ध गरेको छ। अब पार्टी केन्द्रीय समिति नै भंग गरेर विशेष महाधिवेशनमा जान लागेको छ। यो फेरि एकपटक पार्टीलाई नेतृत्वविहीन बनाउने र गन्तव्यविहीन यात्रामा लैजाने संकेत हो। दुर्गा सोबलाई संयोजक बनाउने भनिए पनि त्यो पनि केवल अन्तरिम व्यवस्थामात्र हुनेछ। डा. भट्टराईले जुन रूपमा ‘वैकल्पिक राजनीति’ को नारा दिएर नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरे, त्यो आज बुझिनसक्नुको प्रयोगशालामा परिणत भएको छ।

डा. बाबुराम भट्टराई आजको नेपाली राजनीतिक वृत्तमा सबैथोक सुरू गर्ने तर केही पनि पूरा नगर्ने ‘पोलिटिकल एक्पेरिमेन्टलिस्ट’ को रूपमा चित्रित हुन थालेका छन्। विचारधारात्मक स्तरमा जे जति योगदान गरे पनि, व्यवहारिक राजनीतिमा उनले आफूलाई न निरन्तर नेता, न स्थिर रणनीतिकार प्रमाणित गर्न सकेका छैनन्। नेतृत्व त्याग गर्नु सधैं खराब हुँदैन, तर पटक-पटक आफ्नै असफलताको जिम्मेवारीबाट उम्किने अस्त्रका रूपमा नेतृत्व त्याग्नु भने गम्भीर राजनीतिक असजमता हो।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  ६ : १३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले